
भ्यानकुभर, 08 जुलाई (हि.स.)। फिफा विश्वकप २०२६ को प्रि-क्वार्टरफाइनलमा स्विट्जरल्यान्डले मंगलबार अत्यन्त रोमाञ्चक प्रतिस्पर्धामा कोलम्बियालाई पेनल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको छ।
निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनल्टी सुटआउटबाट गरिएको थियो।
पेनल्टी सुटआउटमा स्विट्जरल्यान्डका गोलरक्षक ग्रेगोर कोबेलले कोलम्बियाका कुचो हेर्नान्डेजको पेनल्टी बचाउँदै टोलीको जितको आधार राखे। त्यसअघि कोलम्बियाका डेभिन्सन सान्चेजको प्रहार क्रसबारमा लागेको थियो। स्विट्जरल्यान्डका म्यानुएल अकान्जीले आफ्नो पेनल्टी गुमाए पनि रुबेन वर्गासले निर्णायक पेनल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए।
यस जितसँगै स्विट्जरल्यान्डले सन् १९५४ पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ। अब उसले साविक विजेता अर्जेन्टिनासँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।
कोलम्बियाको दोस्रो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्ने सपना अधुरै रह्यो। यसअघि कोलम्बियाले सन् २०१४ को विश्वकपमा अन्तिम आठमा स्थान बनाएको थियो। यसपटक भने पेनल्टी सुटआउटमा पराजित हुँदै उसको विश्वकप यात्रा टुंगिएको छ।
हिन्दुस्थान समाचार / बिशाल