
नयाँ दिल्ली, 0९ जुलाई (हि.स.)। इङ्ग्ल्यान्ड महिला क्रिकेट टोलीकी अनुभवी ओपनर ट्यामी ब्यूमोन्टले अन्तरराष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेकी छन्। ३५ वर्षीया ब्यूमोन्टले शुक्रबारदेखि लर्ड्समा भारतविरुद्ध शुरु हुने एकमात्र टेस्टपछि आफ्नो १७ वर्ष लामो अन्तररराष्ट्रिय क्रिकेट यात्राको अन्त्य गर्नेछिन्। लर्ड्समा हुने पहिलो महिला टेस्ट नै उनको विदाई खेल पनि हुनेछ।
सन् २००९ मा इङ्ग्ल्यान्डबाट अन्तरराष्ट्रिय क्रिकेटमा पदार्पण गरेकी ब्यूमोन्टले आफ्नो करियरमा २६० अन्तरराष्ट्रिय खेल खेलेकी छन्। उनी इङ्ग्ल्यान्डका लागि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा सर्वाधिक १२ शतक बनाउने महिला खेलाडी हुन्। उनी क्रिकेटका तीनै प्रारूपमा अन्तरराष्ट्रिय शतक बनाउने इङ्ग्ल्यान्डकी केवल दुई महिला खेलाडीमध्ये एक हुन्। साथै, सन् २०२३ मा अस्ट्रेलियाविरुद्ध ट्रेन्ट ब्रिजमा २०८ रनको ऐतिहासिक इनिङ्स खेल्दै महिला टेस्ट क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो इङ्ग्लिस महिला बनेकी थिइन्।
सन्न्यासको घोषणा गर्दै ब्यूमोन्टले इङ्ग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) मार्फत भनिन्, “करिब १७ वर्षसम्म इङ्ग्ल्यान्डको प्रतिनिधित्व गर्नु मेरो जीवनकै सबैभन्दा ठूलो सम्मान हो। सानैदेखि क्रिकेटप्रति मोह हुँदा इङ्ग्ल्यान्डका लागि खेल्ने अवसर पनि मिल्न सक्छ भन्ने मैले कल्पना गरेकी थिइनँ। आज विशेषगरी यो गर्मीयाममा धेरै केटा-केटीहरू क्रिकेटबाट प्रेरित भएको देख्दा र हाम्रो देशमा यस खेलले गरेको प्रगतिप्रति निकै गर्व लागेको छ।”
उनले थपिन्, “हामी सधैं इङ्ग्ल्यान्डको क्यापलाई सम्मानका साथ अर्को पुस्तामा हस्तान्तरण गर्न चाहन्थ्यौं। अब त्यो जिम्मेवारी नयाँ पुस्ताका खेलाडीहरूलाई सुम्पने समय आएको छ।”
लर्ड्स टेस्टबारे उनले भनिन्, “महिलाहरूका लागि लर्ड्समा हुने पहिलो टेस्टमा आफ्नो करियरलाई विदाई दिन पाउनु मेरा लागि सबैभन्दा उपयुक्त अवसर हो। मेरो क्रिकेट यात्रा यति विशेष र अविस्मरणीय हुनेछ भन्ने मैले कहिल्यै सोचेकी थिइनँ।”
ब्यूमोन्ट महिला क्रिकेटमा व्यावसायिक केन्द्रिय सम्झौता प्राप्त गर्ने प्रारम्भिक खेलाडीहरूमध्ये एक हुन्। उनले सन् २०१५ मा पहिलो केन्द्रिय सम्झौता पाएकी थिइन्। त्यसको दुई वर्षपछि सन् २०१७ महिला एकदिवसीय विश्वकपमा ४१० रन बनाएर प्रतियोगिताकी उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् र इङ्ग्ल्यान्डलाई घरेलु मैदानमा विश्व च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।
घरेलु क्रिकेट भने जारी रहने
ट्यामी ब्यूमोन्टले अन्तरराष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए पनि घरेलु क्रिकेट भने निरन्तर खेलिरहने स्पष्ट पारेकी छन्। उनी हाल द ब्लेज र बर्मिङ्घम फिनिक्स टोलीबाट द हन्ड्रेड लगायतका विभिन्न घरेलु प्रतियोगितामा खेलिरहनेछिन्।
हिन्दुस्थान समाचार / बिशाल