२०२७ देखि आमा सशक्तिकरण योजनाका लाभार्थी बढाएर ५० हजार पुर्याइने: मुख्यमन्त्री
मुख्यमन्त्री प्रेमसिंह तामाङ


आमा सम्मान दिवस


मुख्यमन्त्रीलाई भव्य स्वागत


रम्फू, 10 अगस्त (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आइतबार रम्फूमा आयोजित दोस्रो आमा सम्मान दिवस एवं नवौँ जन उन्मुक्ति दिवस समारोहमा सहभागिता जनाउँदै यस अवसरलाई एसकेएम पार्टी तथा सिक्किमका जनताका लागि महत्वपूर्ण एवं ऐतिहासिक दिनको संज्ञा दिएका छन्।

समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सिक्किमका आमाहरूको शक्ति, दृढ़ता, त्याग र निःस्वार्थ मायाप्रति सम्मान व्यक्त गरे। उनले आमाहरू परिवार र समाजको आधारस्तम्भ रहेको बताए।

उनले राज्यका आमाहरूको कल्याण, सम्मान, गरिमा र सशक्तीकरणका लागि सरकार निरन्तर प्रतिबद्ध रहेको बताए। कठिन समयमा आमाहरूले प्रदान गरेको साथ, आशीर्वाद र समर्थनलाई स्मरण गर्दै उनले एसकेएमको कठिन यात्रामा साथ दिने सम्पूर्ण आमाहरूप्रति कृतज्ञता व्यक्त गरे।

कार्यक्रमका अवसरमा आमा सशक्तीकरण योजनाअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रबाट १० जना आमालाई चेक प्रदान गरियो। बाँकी लाभार्थीहरूले यसै महिनाभित्र आ-आफ्ना विधायकमार्फत सम्बन्धित बीएसी कार्यालयबाट चेक प्राप्त गर्ने मुख्यमन्त्रीले जानकारी दिए। उनले कुनै पनि योग्य आमा योजनाको लाभबाट वञ्चित नहुने सुनिश्चित गरिने बताए।

सरकारको भावी योजनाबारे जानकारी दिँदै मुख्यमन्त्री तामाङले २०२७ देखि आमा सशक्तिकरण योजनालाई थप विस्तार गरिने घोषणा गरे। योजनाका लाभार्थीको संख्या हालको ३२ हजारबाट बढाएर ५० हजार पुर्‍याइने तथा प्रत्येक निर्वाचन क्षेत्रबाट १,५०० भन्दा बढी आमालाई योजनामा समेट्ने लक्ष्य रहेको उनले बताए।

यस अवसरमा मुख्यमन्त्रीले आमाहरूको उल्लेखनीय योगदान र उपलब्धिको सम्मान गर्दै आमा सम्मान पुरस्कार, प्रगतिशील आमा पुरस्कार तथा उत्कृष्ट आमा खाता धारक पुरस्कार समेत प्रदान गरे।

मुख्यमन्त्रीले बजेट २०२६-२७ अन्तर्गत घोषणा गरिएका विभिन्न जनकल्याणकारी योजनाहरूको पनि उल्लेख गरे। जसमा अम्मा सहयोग योजना, बहिनी योजना तथा मेरो रूख मेरो सन्तति लगायतका पहलहरू रहेका छन्।

उनले आगामी वर्ष 1 जुलाईदेखि शिक्षा विभागको पहलमा विद्यालय तथा महाविद्यालयहरूमा आमा कविता प्रतियोगिता आयोजना गरिने घोषणा गरे। यस पहलले युवा पुस्तामा आमाहरूप्रति सम्मान र कृतज्ञताको भावना अझ विकास गर्न सहयोग पुग्ने उनले बताए।

मुख्यमन्त्रीले आँगनवाडी तथा आशा कार्यकर्ताहरूको नियमितीकरण भएकोमा बधाई दिँदै तल्लो तहमा सेवा प्रवाहलाई सुदृढ़ बनाउन उनीहरूले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे।

यसैगरी, २०० वटा स्वयं सहायता समूहलाई आर्थिक सहयोग प्रदान गर्ने व्यवस्था गरिएको उनले जानकारी दिए। साथै, कर्मचारीहरूका लागि साबाटिकल बिदा, श्रवण कुमार पुरस्कार तथा बिरामीहरूका लागि सिलगढ़ीमा ‘आमाको गोद’ जस्ता पहलहरू पनि सरकारको व्यापक सामाजिक कल्याणको दृष्टिकोणअन्तर्गत अघि बढाइएको उनले बताए।

सरकारको शासन प्रणाली जनकेन्द्रित रहेको र राजनीतिक स्वार्थभन्दा सेवा तथा इमानदार प्रयासमा आधारित रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले यी सबै पहलहरूले प्रत्येक आमाको सम्मान, सुरक्षा, सहयोग र सशक्तीकरण सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता प्रतिबिम्बित गर्ने बताए।

उनले “सुनौलो सिक्किम, समृद्ध सिक्किम अनि सामर्थ्य सिक्किम” निर्माण गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याउँदै प्रत्येक आमाले आफूलाई सम्मानित र मूल्यवान् महसुस गर्ने, प्रत्येक परिवार सुरक्षित रहने तथा कोही पनि पछाडि नछुट्ने सिक्किम निर्माणका लागि निरन्तर काम गर्ने बताए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande