
पाकिम, 10 अगस्त (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले दोस्रो आमा सम्मान दिवसको अवसरमा आज रम्फू खेल मैदानमा सिक्किमका सबै ३२ वटा विधानसभा निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्ने ३२ जना आमालाई ‘आमा सम्मान पुरस्कार’ प्रदान गरेका छन्।
मुख्यमन्त्रीको विवेकाधीन अनुदान अन्तर्गत स्थापित यस पुरस्कारमार्फत परिवार तथा समुदायप्रति समर्पण, दृढ़ता, मेहनत र सेवाका लागि आमाहरूलाई सम्मान गरिएको हो। साथै, परिवारको कल्याण तथा समुदायको विकासमा आमाहरूले पुर्याउँदै आएको योगदानलाई पनि पुरस्कारले कदर गरेको जनाइएको छ।
प्रत्येक पुरस्कृत आमालाई उनीहरूका योगदान तथा उपलब्धिको सम्मानस्वरूप ₹५१ हजार नगद पुरस्कार प्रदान गरिएको छ। यस पुरस्कारका लागि आमा सशक्तिकरण योजनाका लाभार्थी नरहेका आमाहरूलाई छनोट गरिएको बताइएको छ। यसले यसअघि विद्यमान योजनामा समेटिन नसकेका महिलाहरूलाई पनि राज्यस्तरीय सम्मानको दायरामा ल्याउने उद्देश्य राखेको जनाइएको छ।
सिक्किमका सबै ३२ विधानसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने गरी आमाहरूको सहभागिता रहेको यस पहलले राज्यका विभिन्न क्षेत्रमा परिवार तथा समुदायका लागि योगदान पुर्याउँदै आएका आमाहरूलाई समान रूपमा सम्मान गर्ने समावेशी दृष्टिकोणलाई प्रतिबिम्बित गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल