खरसाङमा हिल्स फुटबल एकाडेमीद्वारा एकदिने फुटबल छनोट शिविर, ७ सयभन्दा बढी खेलाडी सहभागी
Selection camp


खरसाङ, 10 अगस्त (हि.स.)। खरसाङको मन्टीभिट खेल मैदानमा हिल्स फुटबल एकाडेमीको आयोजनामा एकदिने फुटबल छनोट शिविर सम्पन्न भएको छ।

भारतको प्रतिष्ठित मिनरभा फुटबल एकाडेमी, पञ्जाबका प्रमुख प्रशिक्षक टिका पोनगण, प्रशिक्षक सुभम जोशी तथा हिल्स फुटबल एकाडेमीका प्रशिक्षक नगेन तामाङको अगुवाइमा बाल खेलाडीहरूका लागि छनोट शिविर आयोजना गरिएको हो।

कार्यक्रमको शुरुवातमा हिल्स फुटबल एकाडेमीका तर्फबाट अतिथिहरूलाई खदा लगाएर स्वागत गर्दै स्मृति चिह्न प्रदान गरिएको थियो।

छनोट शिविरमा झारखण्डको राँची, सिक्किम, कालेबुङ, दार्जिलिङ, कोलकाता, लोधोमा, मिरिक लगायत विभिन्न स्थानबाट ७ सयभन्दा बढी बाल खेलाडीहरूको सहभागिता रहेको थियो।

शिविरमा १० देखि १८ वर्ष उमेर समूहका खेलाडीहरूलाई छनोट गरिएको थियो। छनोट प्रक्रियाबाट ६ जना खेलाडी पूर्ण रूपमा छनोट भएका छन् भने थप १० जना खेलाडीलाई आगामी दिनमा सिलिगुडीमा आयोजना हुने क्याम्पमा सहभागी गराइने भएको छ।

मिनरभा फुटबल एकाडेमीले भारतीय फुटबलको विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ। एकाडेमीले भारतको प्रतिनिधित्व गर्दै अन्डर-१५ फुटबल प्रतियोगितामा विभिन्न अन्तरराष्ट्रिय टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै हेलसिन्की कप, एमआईसी कप तथा गोथिया कपजस्ता प्रतिष्ठित प्रतियोगिताहरूमा सफलता हासिल गरेको आयोजकले जनाएको छ।

उक्त छनोट शिविरले पहाडी क्षेत्रका बाल खेलाडीहरूलाई राष्ट्रियस्तरको प्रतिष्ठित फुटबल एकाडेमीसँग जोडिने तथा आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकहरूको भनाइ छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande