
खरसाङ, 10 अगस्त (हि.स.)। खरसाङको माथिल्लो सिरुबारी तामाङ संस्थाको आयोजनामा माथिल्लो सिरुबारी तथा आसपासका क्षेत्रका बासिन्दाहरूलाई लक्षित गरी निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरिएको छ।
‘तपाईंको स्वास्थ्य, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आयोजित शिविर गिद्ध पहाडस्थित डीआरसी हल, गौतम ग्यारेज नजिक, माथिल्लो सिरुबारीमा सम्पन्न भएको हो। स्थानीय समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै सहज रूपमा स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ।
शिविरमा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो। स्वास्थ्य परीक्षणका क्रममा सामान्य स्वास्थ्य जाँच, आँखा तथा कानसम्बन्धी परीक्षण, रक्तचाप, ब्लड सुगर, कोलेस्ट्रोललगायत विभिन्न स्वास्थ्य परीक्षण निःशुल्क रूपमा उपलब्ध गराइएको थियो। आवश्यकता अनुसार चिकित्सकहरूले स्वास्थ्यसम्बन्धी सुझाउ तथा आगामी उपचारका लागि आवश्यक परामर्शसमेत प्रदान गरेका थिए।
स्वास्थ्य शिविरमा साधारण रोग विशेषज्ञ डा. अशोक शर्मा, डा. सिप्रा सुप्रोधर तथा आँखा रोग विशेषज्ञ डा. समीर घोषाई लगायत विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गरी आवश्यक चिकित्सकीय परामर्श प्रदान गरेका थिए।
कार्यक्रममा तामाङ संस्थाका अध्यक्ष दिपेन मोक्तान, उपाध्यक्ष भानु लामा, सचिव दिपंकर गुरुङ, सहसचिव रजय थोक्कर, पूर्व अध्यक्ष डीके गुरुङ तथा कोषाध्यक्ष सुरेस घिसिङ लगायत संस्थाका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
शिविरबाट ठूलो संख्यामा स्थानीय बासिन्दाहरू लाभान्वित भएको आयोजकले जनाएको छ। समुदायका लागि प्रत्यक्ष रूपमा उपयोगी स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्न कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याएको आयोजक संस्थाको विश्वास रहेको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी, स्वयंसेवक, विभिन्न संघ-संस्थाका प्रतिनिधि, सहयोगी तथा स्वास्थ्य परीक्षणका लागि उपस्थित सम्पूर्ण स्थानीय बासिन्दाप्रति माथिल्लो सिरुबारी तामाङ संस्थाले आभार व्यक्त गरेको छ।
आगामी दिनमा पनि समुदायको आवश्यकता र हितलाई ध्यानमा राख्दै स्वास्थ्य, शिक्षा, सामाजिक सेवा तथा जनहितका विभिन्न कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता संस्थाले व्यक्त गरेको छ। यसबारे माथिल्लो सिरुबारी तामाङ संस्थाका सचिव दिपंकर गुरुङले जानकारी दिएका हुन्।
हिन्दुस्थान समाचार / हनोक