क्रामाकपा घूम शाखाको पाँचौँ सम्मेलन सम्पन्न, चार प्रस्ताव पारित
crpm meeting


दार्जिलिङ, 10 अगस्त (हि.स.)।क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा) घूम शाखाको पाँचौँ सम्मेलन कमरेड सुष्मा लामाको अध्यक्षतामा सम्पन्न भएको छ।

नेपाली संगीत जगतका प्रगतिशील, जनवादी तथा लोकसंगीतका लोकप्रिय वरिष्ठ व्यक्तित्व अशोक राईको निधनप्रति गहिरो शोक व्यक्त गर्दै सम्मेलनमा दुई मिनेट मौनधारणसमेत गरिएको थियो।

सम्मेलनमा जोनल सचिव राजु मोक्तानले स्वागत मन्तव्य राखेका थिए भने शाखा सचिव सञ्जय घिसिङले शाखाको सांगठनिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा वर्तमान राजनीतिक अवस्था, पार्टीको सांगठनिक स्थिति तथा जनताको मनोस्थितिलगायत विषयहरू समेटिएका थिए।

सम्मेलनको विशेष कार्यक्रममा पार्टी तथा जनताको हितमा समर्पित भएर काम गरेका तथा दिवंगत भएका कमरेडहरूको सम्मान र स्मरण गर्ने परम्परालाई निरन्तरता दिइएको थियो। यसैगरी, समर्पित कार्यकर्ता कमरेड किरूमाया शेर्पा (तामाङ) लाई उनको योगदानको कदरस्वरूप दोसल्ला ओढाई अभिनन्दनपत्र प्रदान गरिएको थियो।

सम्मेलनले विभिन्न विषय समेटिएका चारवटा प्रस्ताव पारित गरेको छ। प्रस्तावमार्फत गोर्खाहरूको दीर्घकालीन मागप्रति सरकारले आनाकानी तथा छलछाम नगरी गोर्खाल्याण्डको समस्या यथाशीघ्र समाधान गर्नुपर्ने माग गरिएको छ।

त्यसैगरी, चियाकमान तथा सिन्कोना बगानका बासिन्दाहरूले पुस्तौँदेखि भोगचलन गर्दै आएको जग्गा-जमिनको पर्जा-पट्टा यथाशीघ्र प्रदान गर्नुपर्ने माग सम्मेलनले गरेको छ।

चिया उद्योग तथा यससँग सम्बन्धित कर्मचारी र श्रमिकहरूका लागि न्यूनतम ज्याला तत्काल लागू गर्नुपर्ने माग पनि प्रस्तावमा समेटिएको छ।

यसका साथै राज्यमा सत्ता परिवर्तनसँगै पञ्चायत मन्त्रीद्वारा ग्राम पञ्चायतका प्रधानहरूको विशेष अधिकार सरकारी कार्यकारी अधिकारीलाई हस्तान्तरण गर्ने पहल भइरहेको भन्दै सम्मेलनले त्यसको पुनर्विचार गर्न सरकारलाई आह्वान गरेको छ। यस्तो कदमले सत्ताको केन्द्रीकरण गर्दै ग्रामीण क्षेत्रको अधिकारलाई नियन्त्रणमा राख्ने तथा ग्रामवासीको गणतान्त्रिक अधिकारमाथि प्रहार गर्ने सम्मेलनको ठहर रहेको छ।

वक्ताहरूले क्रामाकपाले जातीय मुद्दा तथा गोर्खाल्याण्ड आन्दोलनलाई कुनै सम्झौता नगरी निरन्तर रूपमा अघि बढाउँदै आएको दाबी गरे। साथै, गोर्खाल्याण्डको पक्षमा रहेका विभिन्न शक्ति तथा संगठनहरूले क्रामाकपाको संघर्षलाई बेवास्ता गर्नुको सट्टा वर्तमान परिस्थितिमा आपसी संवाद र तर्कका माध्यमबाट अघि बढ्नु आवश्यक रहेको उनीहरूले बताएका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande