
खरसाङ, १० अगस्त (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) तीनधारे-महानदी समष्टिको सांगठनिक सभा तीनधारेस्थित वरिष्ठ नागरिक कल्याण संगठन भवनमा समष्टि अध्यक्ष जेबी गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ।
समष्टिका मूल सचिव प्रमोद थापाको स्वागत मन्तव्यबाट शुरु भएको सभामा पहाडको वर्तमान राजनीतिक परिस्थिति, पार्टीको सांगठनिक अवस्था तथा आगामी रणनीतिबारे विस्तृत छलफल गरिएको थियो।
सभालाई सम्बोधन गर्दै मूल सचिव थापाले पार्टीका सम्पूर्ण समर्थक तथा कार्यकर्ताहरूलाई वर्तमान परिस्थितिमा धैर्यता, अनुशासन र संगठनप्रतिको प्रतिबद्धता कायम राख्दै अघि बढ्न आह्वान गरे।सभाको प्रमुख आकर्षणका रूपमा शिवखोला पाँच नम्बर गाउँ निवासी अशोक लामालाई गोरामुमो तीनधारे-महानदी समष्टिको सांगठनिक सचिवको जिम्मेवारी प्रदान गरिएको छ। समष्टि अध्यक्ष जेबी गुरुङले लामालाई खदा लगाई नियुक्तिपत्र हस्तान्तरण गर्दै नयाँ जिम्मेवारीका लागि शुभकामना व्यक्त गरे।
नवनियुक्त सांगठनिक सचिव अशोक लामाले आफूलाई प्रदान गरिएको जिम्मेवारी पूर्ण निष्ठा, इमानदारी र अनुशासनका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले जाति र माटोको हितका लागि तन, मन र वचनले संगठनमा सक्रिय भएर खटिने अठोटसमेत व्यक्त गरे।
समष्टि अध्यक्ष गुरुङले संगठनलाई बलियो बनाउन प्रत्येक कार्यकर्ताले सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए। उनले नकारात्मक सोच त्यागेर सकारात्मक सोच, दृढ़ संकल्प र निरन्तर प्रयासका साथ अघि बढे मात्र निर्धारित लक्ष्य हासिल गर्न सकिने बताए।
अध्यक्ष गुरुङले पार्टीको वर्तमान राजनीतिक गतिविधि तथा सांगठनिक अवस्थाबारे चर्चा गर्दै आगामी दिनमा संगठन विस्तारलाई अझ तीव्र र प्रभावकारी बनाउन सबै तहका कार्यकर्ता तथा समर्थकहरू सक्रिय हुनुपर्ने बताए। संगठन नै राजनीतिक शक्तिको आधार भएको उल्लेख गर्दै उनले गाउँ-गाउँ र घर-घरमा संगठनलाई सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिए।
सभामा आगामी दिनमा मनाइने नागरिकता दिवस सम्बन्धमा पनि विस्तृत छलफल भएको थियो। उक्त कार्यक्रममा समष्टिबाट बृहत् सहभागिता जनाउने निर्णयलाई उपस्थित समर्थकहरूले उत्साहपूर्वक समर्थन गर्दै प्रस्ताव पारित गरेका थिए।
हिन्दुस्थान समाचार / हनोक