धावक अमर सुब्बा मुम्बई अल्ट्रा १२ आवर रनमा सहभागी हुन मुम्बई प्रस्थान
धावक अमर सुब्बा


गान्तोक, 11 अगस्त (हि.स.)। ‘सिक्किमका म्याराथन म्यान’ का रूपमा परिचित धावक अमर सुब्बा प्रतिष्ठित मुम्बई अल्ट्रा १२ आवर रनमा सहभागी हुन आज मुम्बईतर्फ प्रस्थान गरेका छन्। उक्त दौड १५ अगस्त, २०२६ का दिन मुम्बईको दादरस्थित शिवाजी पार्कमा आयोजना हुनेछ।

अमर सुब्बाले गत वर्ष पनि यस कठिन अल्ट्रा दौडमा सफलतापूर्वक सहभागिता जनाएका थिए। गत वर्षको उत्कृष्ट प्रदर्शनपछि उनलाई यस वर्षको प्रतियोगितामा विशेष निमन्त्रणामार्फत पुनः सहभागी हुन आमन्त्रण गरिएको हो।

यस वर्षको कार्यक्रमलाई अझ विशेष बनाउने पक्ष भनेको यो सतप्रतिशत च्यारिटी रन हुनु हो। दौडबाट संकलित सहयोग टाटा मेमोरियल अस्पतालमा उपचाररत क्यान्सरसँग संघर्ष गरिरहेका साहसी बालबालिकाहरूको सहयोगका लागि समर्पित गरिनेछ।

स्वतन्त्रता दिवसको अवसर पारेर प्रत्येक वर्ष आयोजना हुने यो वार्षिक कार्यक्रम मुम्बई रनर्स समूहहरूको आयोजनामा सञ्चालन हुँदै आएको छ।

धावक सुब्बाले पर्यटनमन्त्री छिरिङ टी. भोटिया र सुदुङलाखा, कोप्चेका सन्दीप गुरुङप्रति समर्थनका लागि हार्दिक आभार व्यक्त गरेका छन्।

----

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande