
गान्तोक, 11 अगस्त (हि.स.)। भारतमा नेपाली भाषाले सन् १९९२ मा संविधानको आठौँ अनुसूचीमा संवैधानिक मान्यता प्राप्त गरेको ऐतिहासिक दिनलाई स्मरण गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिको गौरवपूर्ण यात्रालाई निरन्तरता दिने उद्देश्यले यस वर्ष ३५औँ नेपाली भाषा मान्यता दिवस राज्यस्तरीय रूपमा गान्तोकमा भव्यताका साथ मनाइने भएको छ।
नेपाली साहित्य परिषद्, सिक्किमको आयोजनामा आगामी २० अगस्त, २०२६ का दिन गान्तोकमा आयोजना हुने उक्त राज्यस्तरीय समारोहमा नेपाली भाषा-साहित्यको विकास, संरक्षण, संवर्द्धन र शैक्षिक उन्नयनमा योगदान पुर्याउने स्रष्टा तथा प्रतिभाहरूलाई सम्मान गरिनेछ।
यसै क्रममा नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा सुदूर पूर्वाञ्चल भारतको असम, लामडिङबाट दीर्घकालीन तथा विशिष्ट योगदान पुर्याउँदै आएका प्रबुद्ध साहित्यकार, ‘विन्दु’ पत्रिकाका सम्पादक तथा वरिष्ठ साहित्य साधक केबी नेपालीलाई वर्ष २०२६ को ‘कञ्चनजङ्घा अगम स्मृति पुरस्कार’ द्वारा अलङ्कृत गरिने भएको छ।
नेपाली साहित्य परिषद्, सिक्किमका अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा हालै सम्पन्न बैठकमा चयन समितिबाट प्राप्त सिफारिस प्रस्तुत भएपछि केबी नेपालीलाई यस वर्षको ‘कञ्चनजङ्घा अगम स्मृति पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो।
उक्त पुरस्कार आगामी २० अगस्तमा गान्तोकमा आयोजना हुने ३५औँ राज्यस्तरीय नेपाली भाषा मान्यता दिवस समारोहका अवसरमा प्रदान गरिनेछ। पुरस्कारस्वरूप नगद रु. एक लाख, अङ्गवस्त्र, स्मृति चिह्न तथा प्रशस्तिपत्र प्रदान गरिनेछ।
सन् १९४६ मा असमको डिग्बोईमा जन्मिएका केबी नेपाली नेपाली साहित्यका बहुआयामिक साधकका रूपमा परिचित छन्। कविता, कथा, उपन्यास, गीत, नाटक, अनुवाद तथा साहित्यिक पत्रकारितालगायतका विविध विधामार्फत उनले नेपाली भाषा र साहित्यको विकास, विस्तार र समृद्धिमा सात दशकभन्दा लामो समयदेखि निरन्तर र उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्।
उनका ‘समर्पण’, ‘मेरो घर मेरो संसार’, ‘कल्पना’, ‘प्लेटफर्म’, ‘भोक-मृत्यु-संघर्ष’, ‘अनुराग’ लगायतका कृतिहरू नेपाली साहित्यका उल्लेखनीय उपलब्धिका रूपमा स्थापित छन्। साहित्य अकादेमी पुरस्कारलगायत विभिन्न राष्ट्रिय-अन्तरराष्ट्रिय सम्मानबाट सम्मानित भइसकेका केबी नेपालीको दीर्घ साहित्यिक यात्रा नेपाली भाषा-साहित्यको गौरवशाली इतिहाससँग अभिन्न रूपमा जोडिएको छ।
राष्ट्रिय स्तरमा नेपाली भाषा र साहित्यको श्रीवृद्धिका लागि दीर्घकालीन, समर्पित र विशिष्ट सेवा गर्ने स्रष्टालाई प्रदान गरिँदै आएको ‘कञ्चनजङ्घा अगम स्मृति पुरस्कार’ ले नेपाली साहित्यको संस्थागत सम्मानको क्षेत्रमा विशिष्ट महत्त्व राख्दै आएको छ। यस वर्ष केबी नेपालीलाई उक्त सम्मानका लागि चयन गरिनु उनको जीवनपर्यन्त साहित्यिक साधना, सिर्जनात्मक सक्रियता र नेपाली भाषा-साहित्यप्रतिको अतुलनीय समर्पणको उच्च कदर भएको परिषद्ले जनाएको छ।
यसैगरी, नेपाली साहित्य परिषद्, सिक्किमले सन् २०१३ देखि भाषा मान्यता दिवसको अवसर पारेर सिक्किम विश्वविद्यालयअन्तर्गत नेपाली विषयमा स्नातकोत्तर तह (एम.ए.) को अन्तिम सत्रान्त परीक्षामा सर्वाधिक अङ्क प्राप्त गर्ने विद्यार्थीलाई ‘प्रेमलाल स्मृति शैक्षिक पुरस्कार’ प्रदान गर्दै आएको छ।
यस वर्ष पनि उक्त पुरस्कार प्रदान गर्न परिषद्ले सिक्किम विश्वविद्यालयसँग आवश्यक सम्पर्क गरिसकेको छ। पुरस्कारस्वरूप नगद रु. एघार हजार एक सय एघार तथा प्रमाणपत्र प्रदान गरिनेछ।
नेपाली भाषा, साहित्य, शिक्षा र संस्कृतिको क्षेत्रमा योगदान पुर्याउने स्रष्टा तथा प्रतिभाहरूलाई सम्मान र प्रोत्साहन गर्ने आफ्नो परम्परालाई निरन्तरता दिँदै नेपाली साहित्य परिषद्, सिक्किमले ३५औँ भाषा मान्यता दिवसलाई नेपाली भाषाको संवैधानिक यात्राको गौरव, साहित्यिक साधनाको सम्मान र शैक्षिक उत्कृष्टताको उत्सव का रूपमा राज्यस्तरीय रूपमा भव्यतापूर्वक मनाउने तयारी गरिरहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
हिन्दुस्थान समाचार / बिशाल