
गान्तोक, 12 अगस्त (हि.स.)। नेपालकी महिला फुटबलकी चर्चित खेलाडी अञ्जिला सुब्बाको वास्तविक जीवनकथामा आधारित नेपाली फिचर फिल्म ‘अञ्जिला’ आगामी 20 अगस्तमा वज्र सिनेमा हलमा प्रिमियर हुने भएको छ। फिल्मको प्रिमियरमा अञ्जिला सुब्बा स्वयं पनि उपस्थित रहनेछिन्।
फिल्मबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अभिनेत्री तथा साडा प्रोडक्सनकी प्रोपाइटर श्यामा श्री शेर्पाले ‘अञ्जिला’ फिल्म अञ्जिला सुब्बाको वास्तविक जीवनमा आधारित फिल्म रहेको बताइन्।
उनले अञ्जिला अत्यन्तै सामान्य पारिवारिक पृष्ठभूमिबाट आएको र आफ्नो सपना पूरा गर्ने क्रममा उनले धेरै संघर्ष गर्नुपरेको बताइन्। कठिन परिस्थितिका बावजुद अञ्जिलाले कहिल्यै हार नमानी निरन्तर मेहनत र दृढ़ संकल्पका साथ आफ्नो लक्ष्यतर्फ अघि बढेको शेर्पाले उल्लेख गरिन्।
अञ्जिलाको संघर्ष र सफलताको कथा युवाहरूका लागि प्रेरणादायी रहेको बताउँदै शेर्पाले यस फिल्मले सिक्किमका धेरै युवा प्रतिभालाई आफ्ना सपना पूरा गर्न अगाडि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरिन्। उनले प्रिमियर शोका लागि विशेषगरी खेलकुद क्षेत्रसँग सम्बन्धित दर्शकलाई लक्षित गरिएको जानकारी दिइन्।
यसैगरी, सिक्किम फुटबल एसोसिएसनका महासचिव फुर्बा शेर्पाले अञ्जिला सुब्बा स्वयंले आफ्नो जीवनमा आधारित यस बायोपिकमा मुख्य भूमिका निर्वाह गरेको बताए। फिल्ममा उनको वास्तविक जीवनको संघर्षदेखि नेपाल राष्ट्रिय फुटबल टोलीको कप्तान बन्नेसम्मको यात्रा प्रस्तुत गरिएको उनले बताए।
फुर्बा शेर्पाका अनुसार, ‘अञ्जिला’ एक प्रेरणादायी कथा हो, जसले कठिन परिस्थितिमा पनि लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयास गर्नुपर्ने सन्देश दिन्छ। सिक्किममा फिल्मको प्रवर्द्धन गरिरहेकी श्यामा श्री शेर्पालाई सहयोग गर्नुपर्ने उल्लेख गर्दै उनले सिक्किम फुटबल एसोसिएसन उनको यस यात्रामा सहयोग गर्न सदैव तयार रहेको बताए।
यसरी नै सिक्किम फुटसल एसोसिएसनका उपाध्यक्ष बिक्रम तिवारीले पनि अञ्जिला सुब्बा सामान्य पारिवारिक पृष्ठभूमिबाट संघर्ष गर्दै नेपाल राष्ट्रिय फुटबल टोलीको कप्तानसम्म पुग्न सफल भएको बताए। उनको जीवनयात्रा निकै प्रेरणादायी रहेको उल्लेख गर्दै उनले फिल्मले अन्य युवा प्रतिभालाई समेत आफ्नो सपना पूरा गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।
---------------
हिन्दुस्थान समाचार / बिशाल