
खरसाङ, 12 अगस्त (हि.स.)। राज्यसभा सांसद तथा दार्जिलिङ वेलफेयर सोसाइटीका अध्यक्ष हर्षवर्द्धन श्रृङ्गलाको मार्गदर्शनमा संस्थाले ‘क्याप्टेन ब्रिजेश थापा डीडब्ल्युएस उत्कृष्ट उपलब्धि पुरस्कार २०२६’ का लागि आवेदन आह्वान गरेको छ।
दार्जिलिङ पहाडका विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेका व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्यले प्रदान गरिने यस पुरस्कारमार्फत वीर सैनिक क्याप्टेन ब्रिजेश थापाको स्मृति र बलिदानलाई सम्मान गरिने जनाइएको छ। साहस, दृढ़ संकल्प र सच्चा देशभक्तिको भावनाका साथ कर्तव्य निर्वाह गरेका क्याप्टेन थापाले २७ वर्षको उमेरमा जम्मू-कश्मीरमा आतंकवादविरोधी अभियानका क्रममा वीरगति प्राप्त गरेका थिए।
दार्जिलिङ वेलफेयर सोसाइटीका अनुसार, क्याप्टेन ब्रिजेश थापाको जीवन निःस्वार्थ सेवा तथा दार्जिलिङ पहाड र गोर्खा समुदायको प्रगतिप्रतिको अटल प्रतिबद्धताको उदाहरण हो। वार्षिक रूपमा प्रदान गरिने यस पुरस्कारले उत्कृष्टता, समर्पण तथा समाजमा सकारात्मक र सार्थक प्रभाव सिर्जना गर्ने व्यक्तित्वलाई सम्मान गर्दै दार्जिलिङ पहाड र गोर्खा समुदायको गौरव बढाउने लक्ष्य राखेको छ।
पुरस्कारका विजेताले एक लाख रुपियाँ नगद पुरस्कार, डीडब्ल्युएस पदक तथा सम्मानपत्र प्राप्त गर्नेछन्।
संस्थाका अनुसार, पुरस्कारका लागि आवेदन ११ अगस्त २०२६ देखि शुरु भई २६ अगस्त, २०२६ मा बन्द हुनेछ। इच्छुक व्यक्ति वा संस्थाहरूले दार्जिलिङ वेलफेयर सोसाइटीको आधिकारिक वेबसाइट http://www.darjeelingwelfaresociety.com मा उपलब्ध गुगल फाराममार्फत आवेदन पेश गर्नुपर्नेछ।
पुरस्कारका लागि उम्मेदवारको उमेर सामान्यतया १८ देखि ४० वर्ष बीचको हुनुपर्नेछ। यद्यपि, जुरी वा दार्जिलिङ वेलफेयर सोसाइटीका अध्यक्षको सिफारिसमा उमेरसम्बन्धी मापदण्डमा विशेष छुट दिन सकिने व्यवस्था रहेको जनाइएको छ।
उम्मेदवार दार्जिलिङ पहाडको स्थायी बासिन्दा हुनुपर्नेछ। हाल भारतका अन्य भाग वा विदेशमा बसोबास गरिरहेका व्यक्तिहरूले पनि आफ्नो स्थायी बसोबास दार्जिलिङ पहाडमा रहेको प्रमाण पेश गरेमा पुरस्कारका लागि विचार गरिनेछ।
यस पुरस्कारअन्तर्गत शिक्षा, प्रतिस्पर्धात्मक परीक्षा, खेलकुद, संस्कृति तथा कला, वातावरण संरक्षण, सामाजिक कार्य तथा मानवीय सेवा, उद्यमशीलता र नवप्रवर्तन लगायत विभिन्न क्षेत्रमा हासिल गरिएका उल्लेखनीय उपलब्धिहरूलाई समेटिनेछ।
पुरस्कारका मापदण्ड तथा आवेदनसम्बन्धी अन्य विस्तृत जानकारी दार्जिलिङ वेलफेयर सोसाइटीको वेबसाइटमा उपलब्ध गराइने ब्रोसरमार्फत सार्वजनिक गरिने संस्थाले जनाएको छ।
हिन्दुस्थान समाचार / हनोक