
दार्जिलिङ, 12 अगस्त (हि.स.)। दार्जिलिङ म्युनिसिपालिटी एम्प्लोइज युनियन तथा दार्जिलिङ म्युनिसिपालिटी पेन्सनर्स युनियनको संयुक्त पहलमा कर्मचारी तथा पेन्सनर्सहरूले विभिन्न माग राख्दै नगरपालिका कार्यालयअगाडि धरना प्रदर्शन गरेका छन्।
लामो समय बितिसक्दा पनि पीएफ, ग्रेच्युटी तथा पेन्सनसम्बन्धी रकम प्राप्त गर्न नसकेको भन्दै कर्मचारी तथा पेन्सनर्सहरूले नगरपालिका प्रशासनसमक्ष तत्काल समस्या समाधानको माग गरेका छन्।
युनियन पक्षले सम्बन्धित विषयमा पटक-पटक नगरपालिका प्रशासनको ध्यानाकर्षण गराउँदै आए पनि हालसम्म समस्या समाधान नभएको दाबी गरेको छ। उनीहरूले अब थप ढिलाई नगरी पीएफ, ग्रेच्युटी तथा पेन्सनसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न नगरपालिका प्रशासनसँग माग गरेका छन्।
युनियनले आफ्ना मागप्रति नगरपालिका प्रशासन गम्भीर नबने नगरपालिकाका ईओ (कार्यकारी अधिकारी) तथा एफओ (वित्त अधिकारी) विरुद्ध प्राथमिकता दर्ता गर्ने चेताउनीसमेत दिएको छ।
कर्मचारी तथा पेन्सनर्सहरूले आफूहरूको लामो समयदेखिको समस्यालाई गम्भीरतापूर्वक लिएर तत्काल समाधानको पहल गर्न नगरपालिका प्रशासनसँग आग्रह गरेका छन्।
समयमै माग पूरा नभए ईओ, एफओ तथा चेयरम्यानको कार्यालयअगाडि थप कडा रूपमा धरना प्रदर्शन गर्ने चेताउनी युनियन पक्षले दिएको छ। युनियनले अधिकारीहरूलाई कार्यालयबाट बाहिर निस्कन नदिने तथा कार्यालयमै थुनेर राख्नेसम्मका कडा कदम चाल्न सक्ने चेताउनीसमेत दिएको छ।
हिन्दुस्थान समाचार / हनोक