
सोनादा, 12 अगस्त (हि.स.)। विद्यार्थीहरूको बौद्धिक तथा सर्वाङ्गीण विकासका लागि सोनादास्थित स्कट्स मिशन निम्न बुनियादी पाठशालाको आयोजनामा चौथो जीबी थापा स्मृति अन्तरप्राथमिक पाठशाला हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा आयोजक स्कट्स मिशन प्राथमिक पाठशाला विजयी बनेको छ भने लीलावती प्राथमिक पाठशाला, नेहुर बालासन उपविजेता बनेको छ।
स्कट्स मिशन प्राथमिक पाठशालाको निजी भवनमा सम्पन्न कार्यक्रममा विद्यालयका सभापति सुरेन कुमार राईले अध्यक्षता गरेका थिए।
कार्यक्रममा सुखिया जोरबङ्ला खण्ड स्कूलका एआई प्रदीप सुब्बा प्रमुख अतिथि तथा सोनादा सर्कलका एसआई आनन्द शर्मा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। यस अवसरमा स्वर्गीय जीबी थापाकी पत्नी बिना थापा पनि उपस्थित थिइन्।
विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी उनीहरूको आत्मिक, नैतिक, बौद्धिक तथा सर्वाङ्गीण विकासमा जोड दिनुपर्ने कुरालाई मध्यनजर गर्दै यस्ता ज्ञानवर्द्धक कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जनाएको छ। विद्यालय ज्ञान आर्जन गर्ने स्थान मात्र नभई विद्यार्थीहरूको आन्तरिक क्षमता र प्रतिभा विकास गर्ने महत्वपूर्ण थलो भएको पनि कार्यक्रममा जोड दिइएको थियो।
प्रतियोगितामा क्षेत्रका छवटा प्राथमिक पाठशालाका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। रसिक छेत्रीले सञ्चालन गरेको प्रतियोगितामा क्विज मास्टर विवेक मिश्रले विभिन्न विषयसँग सम्बन्धित प्रश्नहरू प्रस्तुत गरेका थिए।
कार्यक्रमले विद्यार्थीहरूमा ज्ञान, आत्मविश्वास, तर्क क्षमता तथा प्रतिस्पर्धात्मक भावनाको विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजक विद्यालयले जनाएको छ।
हिन्दुस्थान समाचार / हनोक