
याङगाङ, 12 अगस्त (हि.स.)। ८०औं स्वतन्त्रता दिवस समारोहको अवसरमा आयोजित दुई दिवसीय याङगाङ महकुमा स्तरीय चेस प्रतियोगिता समाप्त भएको छ। याङगाङ पीएम श्री सरकारी वरिष्ठ माध्यमिक विद्यालयमा आयोजित यस प्रतियोगितामा याङगाङ क्षेत्र र वरपरका विद्यालयहरूका ८९ युवा चेस खेलाडीहरू सहभागी थिए।
यस प्रतियोगिताको आयोजना क्षेत्र विधायक राजकुमारी थापाको मार्गदर्शन र प्रोत्साहनमा सिक्किम चेस संघसँगको सहकार्यमा आईडीसीसी, याङगाङ महकुमाले गरेको थियो। प्रतियोगिताको दोस्रो दिन स्वास्थ्य तथा परिवार कल्याण विभागका मन्त्री जीटी ढुङ्गेल मुख्य अतिथि थिए।
प्रतियोगिता दुई वर्गमा सञ्चालन गरिएको थियो। कक्षा आठसम्मका विद्यार्थीहरूलाई लिएर जुनियर वर्गमा ५२ जना सहभागी थिए भने कक्षा नौ देखि बाह्रसम्मका ३७ जना विद्यार्थीहरूले वरिष्ठ वर्गमा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीहरूलाई मन्त्री ढुङ्गेलको बाहुलीद्वारा सम्मानित गरियो।
चेस प्रतियोगिता यस क्षेत्रमा कुनै नयाँ पहल होइन। क्षेत्र विधायक थापाको निरन्तर प्रोत्साहन र मार्गदर्शनमा गत वर्षदेखि यो विद्यार्थी-केन्द्रित गतिविधिको रूपमा आयोजना गरिएको छ। यो पहलले विद्यार्थीहरूलाई कक्षाकोठाभन्दा बाहिर एकाग्रता, रणनीतिक सोच, अनुशासन र खेलकुद विकास गर्ने अवसरहरू प्रदान गर्ने लक्ष्य राखेको छ।
हिन्दुस्थान समाचार / बिशाल