
गान्तोक, 13 अगस्त (हि.स.)। सिक्किम सरकारको आयुष विभागअन्तर्गत सोच्यागाङस्थित १० शय्यायुक्त आयुष अस्पतालद्वारा राष्ट्रिय आयुष मिशन (एनएएम) अन्तर्गत तादोङस्थित बहाई वरिष्ठ माध्यमिक विद्यालयमा‘ आयुर्विद्या विद्यालय स्वास्थ्य कार्यक्रम’ सम्पन्न गरिएको छ।
कार्यक्रममा आयुर्वेद चिकित्सक डा. शिरीन शर्मा तथा होमियोप्याथी चिकित्सक डा. स्वीकृति छेत्रीले विद्यार्थीहरूलाई निवारक स्वास्थ्य सेवा तथा स्वस्थ जीवनशैली अपनाउने विषयमा जानकारी गराए।
कार्यक्रमका क्रममा दिनचर्या, ऋतुचर्या, सन्तुलित पोषण, व्यक्तिगत सरसफाई, शारीरिक तन्दुरुस्ती, मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन तथा समग्र स्वास्थ्यजस्ता विषयमा जानकारीमूलक तथा अन्तरक्रियात्मक सत्र सञ्चालन गरिएको थियो।
अन्तरक्रियात्मक सत्रमा रोगको रोकथाम तथा स्वास्थ्य प्रवर्द्धनमा आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा, सोवा रिग्पा, होमियोप्याथीलगायत मान्यताप्राप्त आयुष चिकित्सा पद्धतिको भूमिकाबारे विद्यार्थीहरूलाई जानकारी दिइयो। साथै, आयुष शिक्षासँग सम्बन्धित अध्ययन तथा व्यावसायिक अवसरहरूबारे विद्यार्थीहरूलाई करियर मार्गदर्शनसमेत प्रदान गरियो।
कार्यक्रममा ‘नशामुक्त भारत अभियान’ तथा ‘योग ३६५’ सम्बन्धी सचेतना सत्र पनि सञ्चालन गरिएको थियो। विद्यार्थीहरूलाई लागुऔषधमुक्त जीवनशैली अपनाउन तथा शारीरिक र मानसिक स्वास्थ्य सुधारका लागि नियमित रूपमा योग अभ्यास गर्न प्रोत्साहित गरियो। यस क्रममा तनाउ कम गर्न सहयोग पुग्ने सरल योग प्रविधिहरूको प्रदर्शनसमेत गरिएको थियो।
कार्यक्रमअन्तर्गत आयुष तथा स्वस्थ जीवनशैलीसम्बन्धी अन्तरक्रियात्मक प्रश्नोत्तरी प्रतियोगिता पनि आयोजना गरिएको थियो। प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थी तथा शिक्षक-शिक्षिकासहित जम्मा ६० जनाको सहभागिता रहेको बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल