खरसाङमा ‘हर घर तिरंगा’ कार्यक्रम सम्पन्न
खरसाङमा ‘हर घर तिरंगा’ कार्यक्रम सम्पन्न


खरसाङमा ‘हर घर तिरंगा’ कार्यक्रम सम्पन्न


खरसाङ, 13 अगस्त (हि.स.)। स्वतन्त्रता दिवसको अवसरमा खरसाङ महकुमा प्रशासनको आयोजनामा खरसाङ रेलवे स्टेसन परिसरमा ‘हर घर तिरंगा’ कार्यक्रम सम्पन्न गरिएको छ। राष्ट्रिय ध्वजको सम्मान र देशभक्तिको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय नागरिक, विद्यार्थी, प्रशासनिक अधिकारी तथा कलाकारहरूको सहभागिता रहेको थियो। कार्यक्रममा खरसाङकी महकुमा अधिकारी आईएएस प्रिया यादव, डेपुटी मजिस्ट्रेट तथा डेपुटी कलेक्टर लाडेन लेप्चा र खरसाङ नगरपालिकाका प्रशासक अधिकारी थेन्डुप भोटियालगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा पुष्परानी मेमोरियल हाई स्कूलका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। उनीहरूको सहभागिताले राष्ट्रिय अभियानप्रति युवापुस्ताको उत्साह र देशभक्तिको भावना झल्काएको थियो।

रेलवे स्टेसन परिसरमा आयोजित कार्यक्रममा पश्चिम बङ्गाल सरकारको सूचना तथा सांस्कृतिक विभागअन्तर्गत लोक प्रसार प्रकल्पका कलाकारहरूले देशभक्तिपूर्ण गीत तथा नृत्य प्रस्तुत गरे। सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाउँदै दर्शक तथा दैनिक यात्रुहरूको ध्यान खिचेको थियो। साथै, प्रस्तुतिमार्फत क्षेत्रको समृद्ध सांस्कृतिक सम्पदा र राष्ट्रिय एकताको भावनालाई उजागर गरिएको थियो।

‘हर घर तिरंगा’ कार्यक्रममार्फत खरसाङवासीलाई आफ्नो घरमा राष्ट्रिय झण्डा फहराउन तथा देशको स्वतन्त्रता र त्यसका लागि गरिएको योगदानलाई स्मरण गर्न प्रोत्साहित गरिएको छ। कार्यक्रमले स्वतन्त्रता दिवसको अवसरमा नागरिकहरूबीच राष्ट्रिय गौरव, एकता र देशभक्तिको भावना थप सुदृढ गर्ने सन्देश दिएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande