बंगाल विधानसभा अध्यक्ष रथिन्द्रनाथ बोसद्वारा खरसाङको गिद्ध पहाडस्थित नेताजी म्युजियमको निरीक्षण भ्रमण
बंगाल विधानसभा अध्यक्ष रथिन्द्रनाथ बोस


बंगाल विधानसभा अध्यक्ष रथिन्द्रनाथ बोस


नेताजीमाथि राजनीति गर्नु राम्रो होइन, तर उहाँको योगदानमा काम गर्न आवश्यक छ : रथिन्द्रनाथ बोस

खरसाङ, 13 अगस्त (हि.स.)। पश्चिम बंगाल विधानसभा अध्यक्ष रथिन्द्रनाथ बोसले बिहीबार खरसाङको गिद्ध पहाडस्थित नेताजी म्युजियमको निरीक्षण भ्रमण गरेका छन्। उनले अपराह्न गिद्ध पहाड पुगेर नेताजी सुभाषचन्द्र बोसको नाममा स्थापित नेताजी इन्स्टिच्युट फर एसियन स्टडिजअन्तर्गत रहेको म्युजियमको भ्रमण गरेका हुन्।

राज्यमा नेताजी सुभाषचन्द्र बोसलाई लिएर विभिन्न बयानबाजी भइरहेका बेला विधानसभा अध्यक्ष बोसको नेताजी म्युजियम भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ। भ्रमणका क्रममा विधानसभा अध्यक्षले सर्वप्रथम म्युजियम परिसरअघिको नेताजी सुभाषचन्द्र बोसको सालिगमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे। त्यसपछि उनले म्युजियमभित्र रहेका नेताजीसँग सम्बन्धित विभिन्न ऐतिहासिक तस्बिर, सामग्री तथा अन्य महत्वपूर्ण वस्तुहरूको निरीक्षण गरे।

म्युजियमका इन्चार्ज गणेश प्रधानले उनलाई म्युजियम तथा नेताजीसँग सम्बन्धित विभिन्न विषयबारे जानकारी गराए। आफ्नो भ्रमणका क्रममा विधानसभा अध्यक्ष बोसले म्युजियममा रहेको आगन्तुक पुस्तिकामा आफ्नो अनुभवसमेत लेख्दै सर्वसाधारणलाई म्युजियमको भ्रमण गरी नेताजी सुभाषचन्द्र बोसका बारेमा जानकारी लिन आग्रह गरे।

भ्रमणका क्रममा खरसाङ महकुमा शासक आईएएस प्रिया यादव, डेपुटी मजिस्ट्रेट लादेन लेप्चा, विभिन्न सरकारी तथा विभागीय अधिकारीहरू, स्थानीय नागरिक र भारतीय जनता पार्टी खरसाङका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

म्युजियमको निरीक्षणपछि पत्रकारहरूसँग कुराकानी गर्दै विधानसभा अध्यक्ष रथिन्द्रनाथ बोसले नेताजी म्युजियमलाई डिजिटलाइज गर्न सरकारसमक्ष कुरा राख्ने बताए। उनले म्युजियममा सर्वसाधारण आएर नेताजीको जीवन, संघर्ष र योगदानबारे थप जानकारी लिनुपर्ने बताए।

नेताजीको विषयमा विवाद वा राजनीति गर्नुभन्दा उहाँको योगदानलाई बुझेर सम्मान गर्नुपर्नेमा जोड दिँदै बोसले भने, “नेताजीमाथि राजनीति गर्नु राम्रो होइन, तर नेताजीमाथि धेरै काम गर्न आवश्यक छ।”

पत्रकारहरूको प्रश्नको जवाफ दिँदै उनले कसले के भन्यो भन्नेभन्दा पनि सरकारले नेताजीका लागि के काम गरिरहेको छ भन्ने कुरा महत्वपूर्ण रहेको बताए। राज्यमा नयाँ सरकार गठन भएको उल्लेख गर्दै उनले अब नेताजीको महत्व बुझेर उहाँसँग सम्बन्धित क्षेत्रमा थप काम गरिने विश्वास व्यक्त गरे।

उनले नेताजी सुभाषचन्द्र बोसलाई बंगाल मात्र नभई देशभरि नै अत्यन्त सम्मानका साथ स्मरण गरिने बताउँदै राष्ट्रका लागि उहाँको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे। नेताजीसँग सम्बन्धित महत्वपूर्ण कार्यहरू अघि बढाउन आफूले सरकारसमक्ष विषय उठाउने पनि उनले बताए।

यसैबीच, विधानसभा अध्यक्षको भ्रमणबारे पत्रकारहरूसँग कुराकानी गर्दै नेताजी म्युजियमका इन्चार्ज गणेश प्रधानले नयाँ सरकार गठन भएपछि पहिलोपटक विधानसभा अध्यक्ष रथिन्द्रनाथ बोसले म्युजियमको निरीक्षण भ्रमण गरेको बताए। अध्यक्षको भ्रमणबाट म्युजियमको विकास तथा संरक्षणका लागि नयाँ आशा जागेको उनले बताए।

प्रधानले विधानसभा अध्यक्षसमक्ष म्युजियमले भोगिरहेका विभिन्न समस्या तथा आवश्यकताबारे जानकारी गराएको र अब ती समस्याहरू समाधान गर्न काम हुने आशा व्यक्त गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande