
गुवाहाटी, 14 अगस्त (हि.स.)। महानगर गुवाहाटीको छयमाइल-ससल क्षेत्रमा एसटीएफले ठूलो कारबाही गर्दै लगभग 88 करोड़ रुपियाँको 10 किलोग्राम हेरोइन जफत गरेको छ। यस मामिलामा पञ्जाबका कथित कुख्यात ड्रग तस्कर हरदीप सिंहलाई पक्राउ गरिएको छ।
गुप्त सूचनाको आधारमा एसटीएफ अधिकारी कल्याण पाठकको नेतृत्वमा अभियान सञ्चालन गरियो। कारबाहीमा ससलस्थित ओम रेजिडेन्सीको एउटा फ्ल्याटमा खानतलासी गरियो जहाँबाट 10 किलोग्राम हेरोइन जफत गरियो।
पुलिस अनुसार उक्त हेरोइन एउटा अलमारीभित्र राखिएको रातो रङ्गको ब्यागभित्र थियो। यस मादक पदार्थको अन्तर्राष्ट्रिय बजारमा अनुमानित मूल्य लगभग 88 करोड़ रुपियाँ रहेको छ। पुलिसको कब्जामा रहेको हरदीप सिंहसित जाँचबुझ गरिँदैछ। एसटीएफले अब यो पत्तो लगाउने प्रयास गरिरहेको छ, हेरोइनको आपूर्ति कहाँबाट भएको थियो र यस तस्करी नेटवर्कमा को-को सामेल छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा