सिक्किम राष्ट्रिय एकताको उत्कृष्ट उदाहरण: राज्यपाल
तिरंगा ऱ्याली


गान्तोक, 14 अगस्त (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरको उपस्थितिमा आज गान्तोकमा राष्ट्रिय एकता, ऐतिहासिक स्मरण र देशभक्तिले ओतप्रोत भव्य कार्यक्रम आयोजना गरियो। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ पनि विशेष रूपमा उपस्थित थिए।

यस राष्ट्रव्यापी उत्सवमा तीन महत्वपूर्ण ऐतिहासिक प्रसङ्गलाई एकसाथ समेटिएको थियो, ‘हर घर तिरंगा अभियान’ अन्तर्गत तिरंगा यात्रा, ‘वन्दे मातरम्’ को गौरवशाली १५० वर्ष पूरा भएको उत्सव तथा ‘विभाजन विभीषिका स्मृति दिवस’।

कार्यक्रमको शुभारम्भ गान्तोकको एमजी मार्गबाट भएको थियो, जहाँ राज्यपाल र मुख्यमन्त्रीले राष्ट्रिय झण्डा फहराउँदै भव्य तिरंगा पदयात्राको नेतृत्व गरेका थिए। तिरंगा यात्रामा मन्त्रिमण्डलका सदस्यहरू, विधायकहरू, राज्य सरकारका उच्च प्रशासनिक तथा पुलिस अधिकारीहरू, विभिन्न विभागका कर्मचारीहरू, ठूलो संख्यामा विद्यार्थी तथा स्थानीय नागरिकहरू सहभागी भएका थिए। हातमा तिरंगा बोकेर देशभक्तिका नाराले गुञ्जिएको जनसागर एमजी मार्गबाट अघि बढेर मनन केन्द्रमा पुगेर समापन भएको थियो।

पदयात्राको समापनपछि मनन केन्द्रको सभागारमा राज्य संस्कृति विभाग, गृह विभाग तथा सूचना एवं जनसम्पर्क विभागद्वारा विशेष कार्यक्रम आयोजना गरियो। कार्यक्रममा ठूलो संख्यामा जनसमुदायको उपस्थिति रहेको थियो।

कार्यक्रममा भारत सरकारको संस्कृति मन्त्रालयद्वारा विशेष रूपमा तयार गरिएको विभाजनमा आधारित वृत्तचित्र प्रदर्शन गरिएको थियो। राज्य संस्कृति विभागका कलाकारहरूले राष्ट्रिय गीत तथा ‘वन्दे मातरम्’ का मनमोहक प्रस्तुतिहरू दिएका थिए, जसले सम्पूर्ण वातावरणलाई राष्ट्रप्रेमको रंगमा रंगाएको थियो। उक्त वृत्तचित्रमार्फत देश विभाजनका क्रममा विस्थापित भएका लाखौँ मानिसहरूको संघर्ष, पीडा तथा अद्वितीय साहसलाई प्रस्तुत गरिएको थियो।

आफ्नो सम्बोधनको शुरुवातमा राज्यपालले भने, “राष्ट्रको जय चेतनाको गान वन्दे मातरम्, राष्ट्रभक्तिको प्रेरणाको गान वन्दे मातरम्” र सबैलाई यी पङ्क्तिहरू दोहोर्‍याउन आह्वान गरे, जसले गर्दा पूरा सभागार गुञ्जिएको थियो।

राज्यपालले भने, “आजको यो दिनले हामीलाई हाम्रो देशको अखण्डता र एकताको सम्झना गराउँछ। जहाँ ‘वन्दे मातरम्’ को १५० वर्षले हामीलाई स्वतन्त्रता संग्रामको त्यस मन्त्रको ऊर्जाको स्मरण गराउँछ, त्यहीँ ‘विभाजन विभीषिका स्मृति दिवस’ ले हामीलाई इतिहासको त्यस अध्यायको सम्झना गराउँदै शान्ति र सद्भाव कायम राख्न प्रेरणा दिन्छ। आज हामी केवल एउटा कार्यक्रममा सहभागी भएका होइनौँ, बरु स्वतन्त्रता संग्राम, राष्ट्रभक्ति र राष्ट्रिय एकताको त्यस महान् विरासतलाई स्मरण गर्न एकत्रित भएका हौँ, जसले हाम्रो राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ।”

यस क्रममा राज्यपालले ‘वन्दे मातरम्’ लाई उचित सम्मान दिलाएकोमा गृहमन्त्री अमित शाहप्रति धन्यवाद व्यक्त गरे। उनले हालै संसदमा विधेयक ल्याएर यस गीतलाई कानुनी रूप दिएको र राष्ट्रिय गीतलाई राष्ट्रगानसरह अनिवार्य बनाएको बताए।

राज्यपालले तिरंगामाथि प्रकाश पार्दै हाम्रो राष्ट्रिय झण्डाको यात्रा भारतको स्वतन्त्रता संघर्षको यात्रासँग जोडिएको बताए। उनले भने, “तिरंगा हाम्रा लागि गौरव पनि हो र जिम्मेवारी पनि। ‘हर घर तिरंगा’ अभियानले राष्ट्रिय झण्डालाई जन-जनसँग जोड्ने महत्वपूर्ण कार्य गरेको छ। जब देशका घर-घरमा तिरंगा फहराउँछ, त्यो दृश्य केवल देशभक्तिको उत्सव मात्र हुँदैन, बरु यसले भारतको शक्ति उसका नागरिकहरूको एकता र सहभागितामा निहित रहेको सन्देश दिन्छ।”

राज्यपालले सिक्किमलाई राष्ट्रिय एकताको उत्कृष्ट उदाहरण बताउँदै उपस्थित मन्त्री तथा विधायकहरूलाई आ-आफ्ना निर्वाचन क्षेत्रमा ‘हर घर तिरंगा’ अभियानलाई अघि बढाउन आह्वान गरे। साथै उनले सबै सरकारी कार्यालयहरूमा ‘वन्दे मातरम्’ स्थापित गर्नुपर्ने कुरा बताए। राज्यपालले हामी फरक हुन सक्ने भए पनि हाम्रो राष्ट्र एउटै रहेको कुरामा जोड दिए। उनले भने, “हाम्रा भाषाहरू फरक हुन सक्छन्, तर हाम्रो भावना एउटै हो। हाम्रा संस्कृतिहरू विविध हुन सक्छन्, तर हाम्रो पहिचान एउटै हो र हामी सबै भारतीय हौँ।” यही राष्ट्रभावनाका साथ अघि बढ्दै भारतलाई एक शक्तिशाली, समृद्ध, आत्मनिर्भर तथा विकसित राष्ट्र बनाउन सबैले आफ्नो योगदान दिनुपर्ने उनले आह्वान गरे।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande