
गान्तोक, 14 अगस्त (हि.स.)। राज्य स्वास्थ्य तथा परिवार कल्याण विभागको विशेष पहलअन्तर्गत ऐतिहासिक मिर्गौला प्रत्यारोपणका लागि कोलकातास्थित आरएन टेगोर अस्पतालको विशेषज्ञ चिकित्सकीय टोली आज गान्तोक आइपुगेको छ। टोलीको नेतृत्व डा. टीए जहाँगीरले गरेका थिए।
विशेषज्ञ टोलीको आगमनपछि स्वास्थ्य तथा परिवार कल्याण विभागका सचिव छेवाङ ग्याछो, आईएएसको उपस्थितिमा समीक्षा बैठक सम्पन्न भयो। बैठकमा प्रधान निर्देशक, मेडिकल सुपरिन्टेन्डेन्ट, अतिरिक्त मेडिकल सुपरिन्टेन्डेन्टहरू, अपरेसन टोली, विशेषज्ञ चिकित्सकहरू, नर्स तथा प्यारामेडिकल कर्मचारीहरूका साथै विभागका अन्य अधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
बैठकमा बाहिरबाट आएका विशेषज्ञ चिकित्सक टोली र स्थानीय मेडिकल टोलीबीच सबै सञ्चालन, चिकित्सकीय तथा व्यवस्थापकीय प्रोटोकलहरूबारे पूर्ण समन्वय सुनिश्चित गरिएको बताइएको छ।
सम्पूर्ण तयारी पूरा भइसकेको जनाउँदै भोलि, १५ अगस्त २०२६ मा प्रस्तावित ऐतिहासिक मिर्गौला प्रत्यारोपण प्रक्रियाका लागि सबै व्यवस्था निर्धारित योजनाअनुसार अघि बढिरहेको विभागले जनाएको छ। यो प्रक्रिया सिक्किममा विशेषज्ञ स्वास्थ्य सेवाको विस्तारतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल