पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयको आयोजनामा हर घर तिरंगा र्याली आयोजना
पुष्परानी विद्यालयका विद्यार्थीहरू


खरसाङ, 14 अगस्त (हि.स.)। स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा खरसाङको पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षक-शिक्षिकाहरूको सहभागितामा हर घर तिरंगा र्‍याली आयोजना गरिएको छ। उक्त तिरंगा र्‍याली आज खरसाङको मोटर स्ट्यान्डबाट शुरु भएर हिल कार्ट रोड, अस्पताल मोड, वर्धमान रोड हुँदै खरसाङ बजारको परिक्रमा गरी पुनः रेलवे स्टेसनसम्म पुगेर समापन गरिएको थियो।

पश्चिम बंगाल सरकारको निर्देशनअनुसार “हरेक घर तिरंगा” अभियानअन्तर्गत विद्यार्थीहरूले हातमा तिरंगा झण्डा बोकेर देशभक्तिका गीत गाउँदै तथा विभिन्न नारा लगाउँदै हर्षोल्लासका साथ खरसाङ नगर परिक्रमा गरेका थिए।

यसै अवसरमा विद्यालयका विद्यार्थीहरूका लागि चित्रकला प्रतियोगिता, हस्तकला प्रदर्शनीलगायतका विभिन्न कार्यक्रम पनि आयोजना गरिएको विद्यालयकी प्रधानाध्यापिका ललिता भण्डारीले जानकारी दिइन्।

उनले नगर परिक्रमा कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याएकोमा महकुमा प्रशासन तथा प्रहरी प्रशासनप्रति आभार व्यक्त गरिन्।

---

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande