
यसपाली बंगालमा पनि राष्ट्रवादी सरकार आएकाले पहाडमा पनि उत्साहपूर्ण माहोल छ: सोनाम लामा
खरसाङ, 14 अगस्त (हि.स.)। खरसाङमा हर घर तिरंगा कार्यक्रमअन्तर्गत आज तिरंगा र्याली आयोजना गरिएको छ। हर घर तिरंगा र्याली आयोजक समिति खरसाङको आयोजनामा सम्पन्न उक्त तिरंगा र्याली खरसाङको टुरिस्ट लजबाट शुरु भएर हिल कार्ट रोड हुँदै अस्पताल मोड अनि वर्धमान रोड भएर मोटर स्ट्यान्डसम्म पुगेको थियो। मोटर स्ट्यान्डमा राष्ट्रिय गीत ‘वन्दे मातरम्’ गाएर तिरंगा र्यालीको समापन गरियो।
उक्त तिरंगा र्यालीमा प्रमुख अतिथिका रूपमा खरसाङका विधायक सोनाम लामा उपस्थित थिए। र्यालीमा स्थानीय बासिन्दा तथा भारतीय जनता पार्टीका प्रतिनिधिहरू उत्साहपूर्ण रूपमा सहभागी भएका थिए। सहभागीहरूले हातमा तिरंगा झण्डा लिएर देशभक्ति तथा देशको स्वतन्त्रताको उत्सव मनाएका थिए। मानिसहरूले ‘भारत माता की जय’ लगायतका नाराहरू लगाएका थिए।
उक्त हर घर तिरंगा र्यालीपछि पत्रकारहरूलाई सम्बोधन गर्दै खरसाङका विधायक सोनाम लामाले खरसाङमा आयोजित तिरंगा र्यालीमा मानिसहरूले खुलेर सहभागिता जनाएको र यसपाली बंगालमा पनि राष्ट्रवादी सरकार आएकाले पहाडमा समेत उत्साहपूर्ण माहोल रहेको बताए। उनले भने, “यसपाली गोर्खाहरूले पनि वास्तवमै स्वाधीनता पाएको जस्तो खुलेर बोल्न पाइरहेका छन् र खुलेर विरोध पनि गर्न पाइरहेका छन्।” उनले अहिले पहाडमा पनि गणतन्त्र आएको र गोर्खाहरूले पनि वास्तवमै स्वाधीनता पाएको अनुभव गरेको बताए।
तिरंगा र्याली कार्यक्रम आयोजक समितिका सदस्य चन्दन प्रसादले खरसाङमा हर घर तिरंगा र्याली कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको र यसले देशभक्तिको उदाहरण प्रस्तुत गरेको बताए।
हिन्दुस्थान समाचार / हनोक