सिक्किमले दिए पर्वतारोही निम्स दाई र उनको दललाई श्रद्धाञ्जलि
निम्सदाईलाई श्रद्धाञ्जली


गान्तोक, 14 अगस्त (हि.स.)।सिक्किमका पर्वतारोही, पर्यटन हितधारक, पत्रकार तथा खेलकूद प्रेमीहरूले नेपालका चर्चित पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) र ब्रड पिक आरोहणमा उच्च सहादत प्राप्त गर्नेहरूलाई श्रद्धाञ्जलि अर्पण गरेका छन्। सिक्किम माउन्टेनरिङ एसोसिएशन, ट्राभल एजेन्ट एसोसिएशन अफ् सिक्किम, जर्नलिस्ट युनियन अफ् सिक्किम, गाइड एसोसिएशन अफ् सिक्किम अनि युवा स्पोर्टिङ क्लब लगायत विभिन्न क्षेत्रसित सम्बन्धित मानिसहरूले एमजी मार्गमा निम्स दाई र उनको दलको तस्वीरमा खादा अर्पण गरी मैनबत्ती बालेर श्रद्धाञ्जलि दिए।

सिक्किम माउन्टेनरिङ एसोसिएशनका अध्यक्ष एभरेस्टर कुञ्जाङ ग्याछो भोटियाले छोटो अवधिमा धेरै ठूलो उपलब्धी हासिल गरेर निम्स दाई गएको उल्लेख गरे। 2019 देखि पर्वतारोहण शुरु गरेर 2026 सम्म लगभग सबै चर्चित चुचुरा चडेर किर्तिमान कायम गरेको महान पर्वतारोहीको सहादतमा शोक व्यक्त गर्दै पर्वतारोहण र सहासिक खेलमा चासो राख्ने युवाहरूको निम्ति उनी प्रेरणा रहेको बताए।

दुई मिनटको मौन धारण गर्दै सबै सहादत पाएका पर्वतारोहीहरूको चीर शान्तिको कामना गरियो। आभार प्रकट गर्दै जर्नलिस्ट युनियन अफ् सिक्किमका अध्यक्ष प्रवीण खालिङले निम्स दाईले युवाहरूलाई दिएको प्रेरणामा सधैँ बाचिरहने बताए। उनले मरेर पनि बाँच्नेहरूमा निम्स दाई परेको अनि पर्वतारोहणको इतिहास र संसार रहेसम्म उनीहरूको नाम रहिरहने बताउँदै सहभागी सबैलाई आभार प्रकट गरे।

श्रद्धाञ्जलि कार्यक्रममा ट्राभल एजेन्ट एसोसिएशन अफ् सिक्किमकी अध्यक्ष फुन्फी भोटिया, एसडीडीसीका अध्यक्ष लुकेन्द्र रसाइली, गाइड एसोसिशनका अध्यक्ष जिग्मी दोर्जी तामाङ, युवा स्पोर्टिङ क्लबका अध्यक्ष क्षितिज छेत्री लगायत विभिन्न पर्यटन हितधारकहरू र युवा पर्वतारोहीहरूको उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande