
खरसाङ, 14 अगस्त (हि.स.)। पहाडको उच्च शिक्षा व्यवस्थामा आवश्यक परिवर्तन र सुधारका लागि आफूले काम गर्ने खरसाङका विधायक तथा पश्चिम बंगाल सरकारको उच्च शिक्षा समितिका सभापति सोनाम लामाले बताएका छन्।
पश्चिम बंगाल सरकारको उच्च शिक्षा समितिको सभापति बनेपछि पहिलोपटक खरसाङ आएका विधायक लामाले शुक्रबार ‘हर घर तिरंगा’ अभियानअन्तर्गत आयोजित तिरंगा र्यालीमा सहभागी भएपछि पत्रकारहरूसँग कुराकानी गर्दै उच्च शिक्षा क्षेत्रमा पहाडले अझ धेरै सुधार र प्रगति गर्नुपर्ने आवश्यकता रहेको बताए।
विधायक लामाले उच्च शिक्षा समितिको पहिलो बैठक कोलकातामा सम्पन्न भइसकेको जानकारी दिँदै राज्यमा उच्च शिक्षा क्षेत्रलाई अझ प्रभावकारी बनाउने दिशामा काम भइरहेको बताए। उनले केन्द्रमा उच्च शिक्षाका लागि अपनाइएको व्यवस्थासँग समन्वय गर्दै राज्यमा पनि सोहीअनुरूप अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, “उच्च शिक्षाको विषयमा केन्द्रमा जुन व्यवस्था छ, हामी पनि त्यही धारामा अघि बढ्नेछौँ। काँधमा काँध मिलाएर र साथमा साथ मिलाएर अघि बढ्नेछौँ।”
लामाले पहाडको उच्च शिक्षा व्यवस्थामा रहेका कमी-कमजोरी पहिचान गरी आवश्यक सुधारका लागि शिक्षाविद्हरूसँग सुझाउ लिइने बताए। पहाडको शिक्षा क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे अध्ययन गरेर सुधारको ठोस पहल गरिने उनको भनाइ छ।
उनले भने, “शिक्षाको क्षेत्रमा बंगाल कुनै समय देशलाई मार्गदर्शन गर्ने क्षेत्र थियो। तर अहिले हामी धेरै पछाडि परेका छौँ। उच्च शिक्षा कुनै पनि क्षेत्रको विकासका लागि अत्यन्त महत्वपूर्ण हुन्छ। त्यसैले शिक्षा क्षेत्रप्रतिको हाम्रो सोचमा परिवर्तन आवश्यक छ।
पहाडका प्रतिभाशाली तथा विद्वानहरू देश-विदेशमा गएर आफ्नो पहिचान बनाउन सफल भए पनि पहाडमै उच्च शिक्षाको अवस्था अपेक्षाकृत पछाडि रहेको उल्लेख गर्दै लामाले यसको कारण पहिचान गरी सुधारका लागि काम गर्नुपर्नेमा जोड दिए। उनले पहाडमा विद्यमान शिक्षा व्यवस्थाका कमीकमजोरीहरूबारे विस्तृत रूपमा बुझेर आवश्यक सुधारका कार्यक्रम अघि बढाउने बताए।
उच्च शिक्षा समितिको बैठक र त्यसको कार्यप्रणालीबारे पत्रकारहरूको प्रश्नको जवाफ दिँदै विधायक लामाले प्रत्येक विधायकलाई दुईदेखि तीनवटा विभागसँग सम्बन्धित जिम्मेवारी दिइएको जानकारी दिए। सम्बन्धित समितिहरूले कोलकातास्थित विधानसभामा बैठक बसेर आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा प्रतिवेदन तयार गरी बुझाउनुपर्ने उनले बताए।
सोही क्रममा उच्च शिक्षा समितिको पहिलो बैठक पनि सम्पन्न भएको र अब समितिमार्फत राज्यसँगै पहाडको उच्च शिक्षा क्षेत्रको विकास तथा सुधारका लागि निरन्तर काम गर्दै जाने लामाले स्पष्ट पारे।
उनले उच्च शिक्षा व्यवस्थालाई समयानुकूल बनाउँदै गुणस्तरीय शिक्षा र आवश्यक सुधारमार्फत पहाडको शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरे।
हिन्दुस्थान समाचार / हनोक