
गान्तोक, 15 अगस्त (हि.स.)। ८०औँ स्वतन्त्रता दिवसको अवसरमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले राज्यवासीलाई शुभकामना दिँदै स्वतन्त्रता सेनानी, संविधान निर्मातासहित देशको सुरक्षामा खटिएका सेना, अर्धसैनिक बल र प्रहरीका जवानप्रति श्रद्धा व्यक्त गरेका छन्। उनले शान्ति, समृद्धि, समावेशी विकास र दिगो प्रगतिका लागि सामूहिक सहभागिताको आह्वान गरे।
स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा जारी आफ्नो सन्देशमा राज्यपालले सिक्किम स्थापनाको ५१औँ वर्षमा प्रवेश गरेको उल्लेख गर्दै विगत पाँच दशकमा राज्यले सन्तुलित तथा दिगो विकासमा उल्लेखनीय प्रगति गरेको बताए। स्वर्ण जयन्ती वर्षमा प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति सीपी राधाकृष्णनलगायत विशिष्ट व्यक्तित्वको भ्रमणले सिक्किमको राष्ट्रिय प्रतिष्ठा बढाएको उनले बताए। सिक्किम पुलिसलाई प्रेसिडेन्ट कलर, पूर्ण साक्षर राज्यको दर्जा, ‘आमा दिदीबहिनी पिङ्क बस’ सेवा तथा भारतको पहिलो पेपरलेस न्यायपालिकाको उपलब्धिलाई उनले ऐतिहासिक उपलब्धिका रूपमा उल्लेख गरे।
आगामी विकासका लागि सरकारले आर्थिक क्षेत्र, पूर्वाधार तथा सम्पर्क, मानव संसाधन, पर्यावरणमैत्री दिगो विकास र योजनाबद्ध शहरीकरण गरी पाँच रणनीतिक स्तम्भ तय गरेको छ। उनले सुनौलो, समृद्ध र समर्थ सिक्किम’ निर्माणलाई लक्ष्य बनाइएको बताए।
राज्यपालले स्वास्थ्य क्षेत्रमा ५०० शय्याको नाम्ची र १०० शय्याको मङ्गन जिल्ला अस्पताल, एसटीएनएममा सुपर स्पेसियालिटी सेवा, तृतीयक क्यान्सर उपचार केन्द्र, एचपीभी परीक्षण तथा मिर्गौला प्रत्यारोपण कार्यक्रम विस्तार गरिएको बताए। संस्थागत प्रसूति दर ९९.६४ प्रतिशत तथा शिशु मृत्यु दर प्रति १,००० जीवित जन्ममा ६ मा झरेको उनले जानकारी दिए।
शिक्षातर्फ २७ मई, २०२६ मा सिक्किम देशको पाँचौँ पूर्ण साक्षर राज्य बनेको, करिब १५ हजार वयस्क साक्षर भएको तथा सबै सरकारी विद्यालयमा किन्डरगार्टन प्रणाली लागू गरिएको उल्लेख गरे। मुख्यमन्त्री मोडल स्कुल, एआई, कोडिङ, रोबोटिक्स तथा व्यावसायिक शिक्षामार्फत युवाको क्षमता विकासमा जोड दिइएको छ।
पर्यावरण संरक्षणअन्तर्गत ‘मेरो रुख मेरो सन्तति’, ‘मेरो बाटो मेरो बोट’, प्लास्टिक नियन्त्रण तथा जैविक विविधता संरक्षणलाई प्राथमिकता दिइएको छ। पर्यटनतर्फ भालेढुङ्गा स्काइवाक, सिङ्शोर ब्रिज, पेलिङ रोपवे, नाथुला सीमा अनुभव परियोजना, युक्सम इको–वेलनेस तथा १,००० भन्दा बढी होमस्टे विकास गर्ने मेगा होमस्टे परियोजना अघि बढाइएको छ।
राज्यपालले युवा, महिला, शिल्पकार र स्थानीय उद्यमीलाई ‘भोकल फर लोकल’ मार्फत बजार, मूल्य अभिवृद्धि र उद्यमशील अवसरसँग जोड्दै विकसित सिक्किम २०४७को लक्ष्य हासिल गर्न सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
हिन्दुस्थान समाचार / बिशाल