

- मुख्यमन्त्रीले राज्यका चिकित्सक तथा स्वास्थ्य संस्थामाथि अझ बढी विश्वास गर्न आग्रह गरे
गान्तोक, 15 अगस्त (हि.स.)। राजधानीको सोच्यागाङस्थित एसटीएनएम अस्पतालमा नवस्थापित सिक्किमकै पहिलो अंग प्रत्यारोपण केन्द्र तथा पोस्ट-ट्रान्सप्लान्ट आईसीयू उद्घाटन गरिएको छ। भारतको 80औं स्वतन्त्रता दिवसको अवसरमा आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले मुख्यमन्त्री प्रेमसिंह तामाङ र स्वास्थ्य तथा परिवार कल्याण विभाग मन्त्री जीटी ढुङ्गेलको उपस्थितिमा उक्त सुविधाको उद्घाटन गरे।
अंग प्रत्यारोपण केन्द्र तथा पोस्ट-ट्रान्सप्लान्ट आईसीयूको अस्पतालको स्तर-७ स्थित अपरेशन थिएटर कम्प्लेक्सको प्रवेशद्वारमा आयोजित कार्यक्रममा गरियो, जहाँ अतिथिहरूले स्मारक शिलापट्ट अनावरण गर्दै यी नयाँ स्वास्थ्य सुविधाहरूलाई सिक्किमवासीको सेवामा समर्पित गरे।
उद्घाटनपश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री तामाङले ८०औँ स्वतन्त्रता दिवसकै दिनमा सिक्किममा पहिलोपटक मिर्गौला प्रत्यारोपण सेवा शुरु हुनु ऐतिहासिक उपलब्धि रहेको बताए।
मुख्यमन्त्रीले जानकारी दिँदै दुई जना सिक्किमी बिरामीको राज्यभित्रै पहिलोपटक मिर्गौला प्रत्यारोपण भइरहेको छ र उक्त शल्यक्रिया सफल हुने कुरामा आफू विश्वस्त रहेको बताए। उनले यस पहललाई सफल बनाउन योगदान पुर्याउने स्वास्थ्य तथा परिवार कल्याण विभाग, चिकित्सक, नर्स, प्राविधिक तथा सम्पूर्ण स्वास्थ्यकर्मीलाई बधाई दिए।
उनले २०१९ यता स्वास्थ्य क्षेत्रमा उल्लेखनीय विस्तार भएको उल्लेख गर्दै राज्यभर डायलाइसिस केन्द्र स्थापना गरिएको र क्यान्सर उपचारजस्ता विशेष सेवाहरू शुरु गरिएको बताए। उनले यी पहलका कारण बिरामीहरूलाई उपचारका लागि राज्यबाहिर जानुपर्ने आवश्यकता धेरै हदसम्म घटेको बताए।
मुख्यमन्त्रीले सिक्किमका नागरिकलाई राज्यका चिकित्सक तथा स्वास्थ्य संस्थामाथि अझ बढी विश्वास गर्न आग्रह गर्दै अहिले सिक्किममा दक्ष सुपर-स्पेशालिस्ट चिकित्सक र आधुनिक स्वास्थ्य पूर्वाधार उपलब्ध रहेको बताए। बिरामीहरूलाई प्रदान गरिने सहयोगबारे जानकारी दिँदै उनले योग्य बीपीएल परिवार तथा सिक्किम सब्जेक्ट प्रमाणपत्र/डोमिसाइल भएका नागरिकलाई मिर्गौला प्रत्यारोपणका लागि उपचार, शल्यक्रिया र आवश्यक परीक्षणहरूको पूर्ण सहयोग उपलब्ध गराइने बताए।
साथै शल्यक्रियापछिका छ महिनासम्म आवश्यक औषधि र शल्यक्रियाका लागि आवश्यक किटहरू पनि मुख्यमन्त्री चिकित्सा सहायता योजना अन्तर्गत उपलब्ध गराइने जानकारी दिए। मुख्यमन्त्रीले प्रत्यारोपण गराइरहेका दुवै बिरामी र उनीहरूका परिवारलाई शुभकामना दिँदै सम्पूर्ण स्वास्थ्य टोलीलाई यस ऐतिहासिक उपलब्धिका लागि बधाई व्यक्त गरे।
यसअघि पहिलो प्रत्यारोपण गराइरहेका बिरामीका परिवारलाई मुख्यमन्त्री चिकित्सा सहायता योजना अन्तर्गत पोस्ट-अपरेटिभ केयर प्याकेज प्रदान गरिएको थियो। यस अवसरमा कोलकातास्थित आरएन टेगोर अस्पतालका विशेष प्रत्यारोपण टोलीले डा. टीए जहाँगीरको नेतृत्वमा ऐतिहासिक प्रत्यारोपण प्रक्रियामा सम्पन्न गरे। उक्त टोलीले एसटीएनएम अस्पतालका नेफ्रोलोजिस्ट डा. अभिषेक गौतम तथा अस्पतालका चिकित्सा र सहयोगी टोलीसँग निकट समन्वयमा काम गरेको थियो।
प्रत्यारोपण प्रक्रियामा दुई जना सिक्किमी बिरामी सहभागी थिए। टाशीडिङका नेचिङ लेप्चाले आफ्नी पत्नी पेम डिकी लेप्चाबाट दान गरिएको मिर्गौला प्राप्त गरे। दोस्रो प्रत्यारोपणमा भुसुककी शोभा छेत्रीले दलबहादुर छेत्रीद्वारा दान गरिएको मिर्गौला प्राप्त गरिन्।
कार्यक्रममा विधायक थिनले छिरिङ भोटिया, विधायक कला राई, स्वास्थ्य विभागका सचिव छेवाङ ग्याछो लगायत अन्य उपस्थित रहेका थिए।
अंग प्रत्यारोपण केन्द्र र पोस्ट-ट्रान्सप्लान्ट आईसीयूको उद्घाटनले सिक्किमको स्वास्थ्य पूर्वाधारमा महत्वपूर्ण थप उपलब्धि भएको छ। यसले राज्यका नागरिकलाई उन्नत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने सिक्किम सरकारको निरन्तर प्रयासलाई प्रतिबिम्बित गर्दछ।
---------------
हिन्दुस्थान समाचार / बिशाल