ऊर्जाको महत्व बढ्यो, भारतले सन् २०४७ सम्म १०० गिगावाटको लक्ष्य लिएको छ : प्रधानमन्त्री मोदी
2f522db0fd60540c4d7d973a69893e0b_81387568.jpg


नयाँ दिल्ली, १५ अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लाको प्राचीरबाट राष्ट्रलाई सम्बोधन गर्दै ऊर्जा (एनर्जी) को महत्व आजको समयमा अत्यधिक बढेको बताएका छन्। उनले ऊर्जा बिना संसार चल्न नसक्ने उल्लेख गर्दै भारतलाई ठूलो मात्रामा विद्युत् आवश्यक रहेको बताए। ऊर्जा सुरक्षा वर्तमान समयको प्रमुख आवश्यकता भएको भन्दै यस दिशामा सरकारले महत्वपूर्ण कदम चालेको उनले बताए। संसदमा ‘शान्ति ऐन’ पारित गरिएको उल्लेख गर्दै उनले सन् २०४७ सम्म १०० गिगावाट क्षमताको लक्ष्य लिएर अघि बढिरहेको जानकारी दिए।

प्रधानमन्त्रीले ‘मेक इन इन्डिया’, ‘स्वदेशी’ र ‘भोकल फर लोकल’ अभियानप्रति भारतीय जनताको बढ्दो लगावको चर्चा गरे। उनले स्वतन्त्रतापछि भारतमा सेमिकन्डक्टरबारे धेरै चर्चा भए पनि कुनै उत्पादन केन्द्र स्थापना हुन नसकेको स्मरण गराउँदै अहिले चिपको महत्व अत्यधिक बढेको बताए। “हरेक क्षेत्रमा चिप आवश्यक छ, चिपबिना संसार नै ठप्प हुनेछ,” उनले भने। भारतले आत्मनिर्भर बन्ने दिशामा आफ्नै सेमिकन्डक्टर प्लान्ट स्थापना गरेको र हाल तीनवटा प्लान्ट सञ्चालनमा आइसकेका तथा त्यहाँबाट निर्यातसमेत सुरु भइसकेको उनले जानकारी दिए।

मोदीले पछिल्ला १२ वर्षमा रक्षा उत्पादन चार गुणाले बढेको बताए। साथै खादी तथा ग्रामोद्योग पाँच गुणा, विद्युतीय उत्पादन (इलेक्ट्रिक म्यानुफ्याक्चरिङ) सात गुणा, रेल डिब्बा (कोच) निर्माण २१ गुणा र मोबाइल फोन उत्पादन ३३ गुणाले वृद्धि भएको जानकारी दिए। इन्टरनेट प्रयोगकर्ताको संख्या चार गुणाले बढेको र डिजिटल कारोबार (डिजिटल ट्रान्जेक्सन) १०० गुणाभन्दा बढी वृद्धि भएको उनले उल्लेख गरे।

प्रधानमन्त्रीका अनुसार, हरेक वर्ष औसतमा १५ गुणा तीव्र गतिमा ‘नलबाट जल’ (घरघरमा खानेपानी) जडान गरिएको छ। ग्यास जडान वितरणको गति छ गुणाले बढाइएको छ भने गरिबका लागि घर निर्माण तथा वितरणको काम पनि तीन गुणा तीव्र गतिमा अघि बढाइएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले अब ठूलो सपना देखेको र त्यसलाई पूरा गर्ने दृढ संकल्प लिएको बताए। उनले भने, “जब स्वतन्त्रताको १०० वर्ष पूरा हुनेछ, तबसम्म हामी विकसित भारत निर्माण गरिसकेका हुनेछौँ।” विश्वकै सबैभन्दा ठूलो जनसंख्या भएको देशले विकसित राष्ट्र बन्ने संकल्प गर्दा विश्वले भारतलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न बाध्य हुने उनले बताए।

उनले कुनै पनि राष्ट्र आफ्ना सपना पूरा गर्दा मात्र महान बन्ने उल्लेख गर्दै दृढ संकल्प र सामर्थ्यका आधारमा अघि बढ्नुपर्ने बताए। प्रधानमन्त्री मोदीले भने, “देश अब साना सपनाले चल्नेवाला छैन। ठूला सपनाले हाम्रो सोचलाई विस्तार दिन्छन्। त्यसैले हाम्रो संकल्प पनि दृढ हुनुपर्छ।'

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande