स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता दिँदै समृद्ध सिक्किम निर्माणको संकल्प
ps tamang


गान्तोक, 15 अगस्त (हि.स.)। ८०औँ स्वतन्त्रता दिवसको अवसरमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यवासीलाई शुभकामना दिँदै स्वतन्त्रता सेनानी, सशस्त्र सेना, केन्द्रिय तथा राज्य सुरक्षा बलप्रति सम्मान व्यक्त गरेका छन्। उनले शान्ति, सुरक्षा, समावेशी विकास र समृद्ध सिक्किम निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए।

स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा जारी आफ्नो सन्देशमा मुख्यमन्त्रीले सिक्किम स्थापनाको स्वर्ण जयन्ती वर्षलाई ऐतिहासिक उपलब्धिका रूपमा उल्लेख गर्दै मुख्यमन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति सीपी राधाकृष्णन तथा केन्द्रिय मन्त्रीहरूको भ्रमणलाई महत्वपूर्ण बताएका छन्। राष्ट्रपति मुर्मुको भ्रमणका क्रममा सिक्किम पुलिसलाई प्रेसिडेन्ट्स कलर, राज्यलाई पूर्ण साक्षर राज्यको घोषणा तथा ‘आमा-दिदी-बहिनी पिङ्क बस’ सेवा शुभारम्भ भएको र सिक्किम भारतकै पहिलो कागजरहित न्यायपालिका बनेको उनले उल्लेख गरे।

मुख्यमन्त्रीले भने, पछिल्ला आठ वर्षमा सिक्किमको वास्तविक जीएसडीपी वृद्धिदर औसत १२.६ प्रतिशतभन्दा बढी रहेको छ भने राज्य देशकै उच्च प्रतिव्यक्ति आय भएका राज्यमा परेको छ। आर्थिक वर्ष २०२६-२७ मा जीएसडीपी ६२,९७३ करोड़ रुपियाँ पुग्ने अनुमान गरिएको छ। सरकारले २० जुलाईमा १९,२१५ करोड रुपियाँको बजेट प्रस्तुत गरेको र समायोजनपछि खुद खर्च १८,४५५ करोड़ रुपियाँ कायम रहेको उनले बताए।

उनले आगामी विकासका लागि उत्पादनशील अर्थतन्त्र, पूर्वाधार तथा सम्पर्क, मानव पुँजी, पर्यावरणमैत्री विकास र दिगो सहरीकरणलाई पाँच प्रमुख आधारस्तम्भ बनाइएको बताए। उनले, कृषकलाई राहत दिन किसान क्रेडिट कार्डअन्तर्गत बाली ऋणको प्रभावकारी ब्याजदर एक प्रतिशतमा झारिएको तथा ‘मेरो अलैँची, मेरो धन’ अभियानमार्फत ठूलो अलैँचीको उत्पादन र बजार प्रवर्द्धन गरिँदैछ। राज्यव्यापी एचपीभी स्क्रिनिङ विस्तार गरी पाठेघरको मुखको क्यान्सर नियन्त्रणमा सिक्किमलाई अग्रणी बनाउने लक्ष्य राखिएको छ। हेलेन लेप्चा सिक्किम सरकारी मेडिकल कलेज तथा मिर्गौला प्रत्यारोपण सेवाले राज्यभित्रै चिकित्सा शिक्षा र जटिल उपचारको अवसर विस्तार गरेको मुख्यमन्त्रीले बताए।

स्वास्थ्य क्षेत्रमा नाम्ची र मङ्गन जिल्ला अस्पताल, एसटीएनएममा सुपर-स्पेसियालिटी सेवा तथा तृतीयक क्यान्सर केन्द्र विस्तार गरिएको छ। मुख्यमन्त्री स्वास्थ्य सुविधा, चिकित्सा सहायता र वात्सल्य योजनाबाट हजारौँ नागरिक लाभान्वित भएका छन्। संस्थागत प्रसूति ९९.६४ प्रतिशत र शिशु मृत्यु दर प्रति हजार जीवित जन्ममा ६ मा झरेको छ।

मुख्यमन्त्रीले शिक्षातर्फ २७ मईमा सिक्किम देशको पाँचौँ पूर्ण साक्षर राज्य बनेको, करिब १५ हजार वयस्क साक्षर भएको तथा सरकारी विद्यालयमा बालवाटिका प्रणाली लागू गरिएको बताए। पूर्वाधारतर्फ करिब ५७० किलोमिटर सड़कलाई मास्टिक अस्फाल्ट प्रविधिबाट स्तरोन्नति गर्न ५४६ करोड़ रुपियाँ प्रस्ताव गरिएको बताए। महिला सशक्तीकरणका लागि पूर्ण रूपमा महिलाद्वारा सञ्चालित पिङ्क बस सेवा र एसएचजी भरोसा सम्मेलन अघि बढाइएको छ। सरकारी कार्यालयमा हरेक बिहीबार परम्परागत पोशाक अनिवार्य गर्ने पहल तथा मार्ताम ल्यान्डफिललाई आधुनिक एकीकृत फोहोर व्यवस्थापन केन्द्रमा रूपान्तरण गर्ने कार्य पनि अघि बढाइएको छ।

मुख्यमन्त्रीले आगामी दिनमा स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, महिला सशक्तीकरण, पर्यावरण संरक्षण र रोजगारीलाई केन्द्रमा राख्दै ‘सुनौलो सिक्किम, समृद्ध सिक्किम र समर्थ सिक्किम’ निर्माणको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande