
पटना, १७ अगस्त (हि.स.)। बिहारको लखीसराय जिल्लास्थित अशोकधाम शिव मन्दिरमा सावनको तेस्रो सोमबारका अवसरमा आज भएको भागदौडमा सात जना श्रद्धालुको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। प्रशासनले मृतकको संख्या औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन। लखीसरायका जिल्ला अधिकारी शैलेन्द्र कुमारले घटनामा करिब सात जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनका अनुसार, घटनामा धेरै श्रद्धालु घाइते भएका छन्। मृत्यु हुने सबै महिला रहेको बताइएको छ।
जलाभिषेक गर्न करिब ५५ हजार श्रद्धालु अशोकधाम पुगेका थिए। यही क्रममा अचानक भागदौड मच्चिएपछि श्रद्धालुहरू ज्यान जोगाउन यताउता भाग्न थालेका थिए। भागदौडमा केही श्रद्धालु एकअर्कामाथि लड्दा च्यापिएका थिए। प्रशासनको टोलीले उद्धार अभियान सञ्चालन गरिरहेको छ भने घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ।
हालसम्म पहिचान भएका मृतकमा बडहियाकी मधुबाला देवी, मनमाला देवी, सफिया सराय मुंगेरकी रिंकु देवी तथा हलसी लखीसरायको प्रतापपुरकी हेमलता देवी रहेका छन्।
घाइते हुनेमा मौसम कुमारी, मुस्कान कुमारी, ममता देवी, विमला देवी, रीना कुमारी, शिवानी कुमारी र कबीला देवीलगायत रहेका छन्।
मुख्यमन्त्री सम्राट चौधरीले घटनाप्रति दुःख व्यक्त गर्दै लखीसरायको अशोकधाममा भएको घटना अत्यन्त दुःखद र हृदयविदारक भएको बताएका छन्। श्रद्धालुको मृत्युको खबरले आफू मर्माहत भएको उल्लेख गर्दै उनले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। घाइतेहरूको उचित र शीघ्र उपचारका लागि प्रशासनलाई आवश्यक निर्देशन दिइएको उनले बताए।
जिल्ला अधिकारी शैलेन्द्र कुमारका अनुसार घटना बिहान करिब ६ः३० बजी अशोकधाम स्टेशनबाट मन्दिरतर्फ जाने बाटोमा भएको हो। उनका अनुसार राति उक्त स्थानमा विद्युत्को पोल ढलेको थियो। बिहान जलाभिषेकका लागि श्रद्धालुहरू मन्दिरतर्फ जाने क्रममा कसैले ढलेको विद्युत् पोलमा करेन्ट प्रवाह भइरहेको हल्ला फैलाएपछि अचानक भागदौड मच्चिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी