
गुवाहाटी, १७ अगस्त (हि.स.)। असममा नदीहरूको जलस्तर तीव्र गतिमा घटिरहेको छ। राज्यका सबै नदीहरू अहिले खतराको सतर्कता सीमाभन्दा तल बगिरहेका छन्। बाढीको प्रभाव पनि पाँच जिल्लामा सीमित भएको छ। यी जिल्लाका १७० गाउँ अझै प्रभावित छन्। प्रभावित नागरिकहरू आफ्नो घर तथा खेतीयोग्य जमिनतर्फ फर्किन संघर्ष गरिरहेका छन्। सरकारले प्रभावितहरूको सम्भव भएसम्म सहयोग गरिरहेको छ।
असम राज्य आपदा प्रबन्धन प्राधिकरण (एएसडीएमए) को १६ अगस्तको तथ्यांकअनुसार, राज्यका सबै नदीहरूको जलस्तर खतराको सीमाभन्दा तल झरेको छ। यस वर्षको बाढीमा ज्यान गुमाउनेको संख्या १०५ पुगेको छ। बाढीबाट सबैभन्दा बढी क्षति शिवसागर, चराइदेव र जोरहाट जिल्लामा भएको जनाइएको छ।
गोलाघाट, शिवसागर, नगाउँ, धेमाजी र जोरहाट गरी पाँच जिल्लाका १४ वटा राजस्व क्षेत्रअन्तर्गत कुल १७० गाउँ प्रभावित भएका छन्। बाढीबाट ५१ हजार ८६९ जना नागरिक प्रभावित भएका छन् भने ३,६२८.१७ हेक्टर कृषि भूमि अझै पानीमा डुबेको छ।
बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यका लागि राज्य आपदा प्रतिक्रिया बल (एसडीआरएफ), जिल्ला आपदा प्रतिकार्य बल (डीडीआरएफ), पुलिस, अग्निशमनलगायत विभिन्न निकाय परिचालित छन्। आइतबार सरकारले कुल १८ वटा मेडिकल टोलीसमेत परिचालन गरेको थियो।
बाढीका कारण राज्यका विभिन्न स्थानमा सडक, पुल तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको छ। क्षतिग्रस्त पूर्वाधारको मर्मत तथा पुनर्निर्माणका लागि सरकारले निरन्तर समीक्षा बैठक गर्दै अवस्थाको जायजा लिइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी