
कोलकाता, १७ अगस्त (हि.स.)। पश्चिम बंगालको बीरभूम जिल्लास्थित तारापीठ मन्दिरअगाडि रहेको एक होटलमा सोमबार बिहान भीषण आगलागी हुँदा कम्तीमा ६ जना श्रद्धालुको मृत्यु भएको छ भने अन्य धेरै जना घाइते भएका छन्। घाइतेहरूलाई रामपुरहाट मेडिकल कलेज तथा अस्पतालमा भर्ना गरिएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ।
तारापीठ पुलिस थानाबाट केही दूरीमा रहेको पाँचतले ‘विदेशिनी’ होटलमा बिहान करिब ४ः३० बजी आगलागी भएको हो। होटलको विद्युत् आपूर्ति केन्द्रमा अचानक विस्फोट भएपछि आगलागी शुरु भएको बताइएको छ। प्रारम्भिक अनुमानअनुसार, विद्युतको तारमा आएको खराबीका कारण विस्फोट भएको हुनसक्ने जनाइएको छ।
घटना हुँदा अधिकांश श्रद्धालुहरू सुतिरहेका थिए। केही समयमै आगोले भीषण रूप लिएपछि होटलभरि धुवाँ फैलिएको थियो। कैयौँ मानिस आफ्ना कोठाभित्रै फसेका थिए। घटनाको जानकारी पाएलगत्तै तारापीठ र रामपुरहाट पुलिस थानाका सुरक्षाकर्मी तथा दमकलका गाडीहरू घटनास्थलमा पुगे। दमकलकर्मीहरूले लामो प्रयासपछि आगो नियन्त्रणमा लिए।
होटलका मालिक कल्याण पालका अनुसार, सुरक्षामा खटिएका कर्मचारीहरूले आगलागी शुरु हुनेबित्तिकै अग्निनियन्त्रक उपकरण प्रयोग गर्नुका साथै विद्युत् आपूर्ति बन्द गर्ने प्रयास गरेका थिए। तर, होटलको सजावटमा प्रयोग गरिएको रेशायुक्त सामग्रीका कारण आगो तीव्र गतिमा फैलिएको बताइएको छ। धुवाँ पाँचौँ तलासम्म पुगेपछि धेरै श्रद्धालुहरू आत्तिएर बाहिर निस्कन खोज्दा आगोको चपेटामा परेका थिए।
होटलमा बसेका उत्तर २४ परगना जिल्लाको बादुडिया निवासी तपनज्योति मण्डलले आफू पत्नी, दुई छोराछोरी, आमा र बहिनीसहित तारापीठमा पूजा गर्न आएको बताए। उनको परिवार करिब ४५ मिनेटसम्म होटलको कोठामै फसेको थियो। कोठामा झ्याल नभएकाले उनीहरूले शौचालयको माथिल्लो भागबाट बाहिर निस्कने प्रयास गरेका थिए। पछि तारापीठ पुलिसले दैलो तोडेर उनीहरूलाई उद्धार गरेको थियो। उनकी आमा अझै बेहोस रहेको र बहिनी आगलागीमा घाइते भएको बताइएको छ।
श्रावण महिनामा पूजा-अर्चनाका लागि तारापीठ पुगेका श्रद्धालुहरूमा घटनापछि त्रास फैलिएको छ। पुलिस तथा प्रशासनको समन्वयमा राहत र उद्धार कार्य जारी रहेको छ। आगलागीको वास्तविक कारण तथा होटलको सुरक्षा व्यवस्थाबारे पनि छानबिन भइरहेको छ।
हिन्दुस्थान समाचार / बिशाल