जम्मू-कश्मीरमा पवित्र बूढा अमरनाथ यात्रा शुरु, कडा सुरक्षाबीच पहिलो टोली प्रस्थान
जम्मू-कश्मीर के उपराज्यपाल मनोज सिन्हा ने यह फोटो एक्स हैंडल पर साझा किया।


जम्मू, १७ अगस्त (हि.स.)। जम्मू-कश्मीरको पुन्छ जिल्लाको लोरन उपत्यकामा पुलस्त्य नदीको किनारमा अवस्थित हिमालयी तीर्थस्थल बूढा अमरनाथको वार्षिक यात्रा सोमबार कडा सुरक्षा व्यवस्थाबीच शुरु भएको छ। उपराज्यपाल मनोज सिन्हाले बिहान करिब ६ः३० बजी जम्मूस्थित भगवती नगर आधार शिविरबाट श्रद्धालुहरूको पहिलो टोलीलाई झन्डा देखाएर प्रस्थान गराएका हुन्।

प्राचीन तथा पौराणिक बूढा अमरनाथ मन्दिर समुद्र सतहबाट करिब ४,६०० फिटको उचाइमा अवस्थित छ। जम्मूबाट मन्दिरको दूरी करिब २९० किलोमिटर रहेको छ।

अधिकारीहरूका अनुसार, जम्मू-राजौरी-पुन्छ राजमार्गमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ। भगवती नगर आधार शिविर तथा आसपासका क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ। यात्राको एक दिनअघि पुन्छमा विशेष अभियान समूह (एसओजी) ले दशनामी अखाडा मन्दिर तथा शंकर नगर क्षेत्रमा खोजी अभियान सञ्चालन गरेको थियो। यस क्रममा घरहरूको जाँच गर्नुका साथै स्थानीय बासिन्दा तथा भाडामा बस्ने व्यक्तिहरूको विवरणसमेत संकलन गरिएको थियो।

अधिकारीहरूले सर्वसाधारणलाई अपरिचित व्यक्तिलाई घरमा आश्रय नदिन तथा कुनै संदिग्ध गतिविधि वा व्यक्तिबारे जानकारी पाए तत्काल पुलिसलाई जानकारी गराउन अपील गरेका छन्।

१२ दिनसम्म चल्ने बूढा अमरनाथ यात्रा आगामी २८ अगस्तमा रक्षाबन्धनका दिन सम्पन्न हुनेछ। यात्राको उद्घाटनअघि उपराज्यपाल मनोज सिन्हाले सामाजिक सञ्जालमार्फत भगवान् शिवलाई सत्य, एकता र आध्यात्मिक शक्तिको शाश्वत प्रतीकका रूपमा स्मरण गर्दै यात्राले धर्म, करुणा र राष्ट्रिय एकताको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका थिए।

यो पवित्र यात्रा पुन्छ जिल्लाको मण्डी तहसीलअन्तर्गत राजपुरा गाउँमा रहेको शिव मन्दिरसम्म पुग्छ। धार्मिक मान्यताअनुसार भगवान् शिवले अमरनाथ गुफामा माता पार्वतीलाई सुनाएको अमरकथाको शुरुवात यही स्थानबाट भएको विश्वास गरिन्छ। बूढा अमरनाथको दर्शन नगरेसम्म अमरनाथ यात्रा पूर्ण नहुने धार्मिक विश्वाससमेत रहेको छ।

सम्पूर्ण यात्रामार्गमा श्रद्धालुहरूको टोलीलाई पुलिसको सुरक्षा प्रदान गरिनेछ। यात्रालाई सुरक्षित बनाउन अतिरिक्त केन्द्रिय सशस्त्र पुलिस बलसमेत परिचालन गरिएको छ। जिल्ला प्रशासन तथा स्थानीय निकायहरूले यात्रामार्गमा पानी नछिर्ने टेन्ट, सामुदायिक भान्सा अर्थात् लंगर, पार्किङ तथा स्वास्थ्य केन्द्रको व्यवस्था गरेका छन्।

पुन्छ जिल्ला प्रशासनले देशका विभिन्न स्थानबाट आउने तीर्थयात्रीका लागि अग्रिम दर्ताको सुविधा उपलब्ध गराउन विशेष पोर्टलसमेत सञ्चालनमा ल्याएको छ। बूढा अमरनाथ मन्दिर पुन्छ सहरबाट करिब २३ किलोमिटर टाढा रहेको छ। पुन्छ उपत्यका तीन दिशाबाट पाकिस्तानसँगको सीमाले घेरिएको छ।

हिन्दूहरूको महत्वपूर्ण धार्मिक स्थल भए पनि मन्दिर वरपर हिन्दू परिवारको बसोबास छैन। स्थानीय मुस्लिम परिवार तथा सीमा सुरक्षा बलका जवानहरूले मन्दिरको संरक्षण तथा हेरचाह गर्दै आएका छन्। मन्दिर पीर पञ्जाल पर्वत शृंखलाको फेदीमा अवस्थित छ। वरपरका पहाडहरू वर्षभरि हिउँले ढाकिएका देखिन्छन्। मन्दिरको एकातर्फ लोरन नदी बग्छ, जसलाई ‘पुलस्त्य नदी’ पनि भनिन्छ। पुन्छ सहरको पुरानो नाम पनि पुलस्त्य नै रहेको बताइन्छ।

त्रयोदशीका दिन पुन्छ सहरस्थित दशनामी अखाडाबाट यस धार्मिक स्थलका लागि ‘छडी मुबारक’ यात्रा शुरु हुन्छ। पूजा सम्पन्न भएपछि प्रहरीले चाँदीको पवित्र छडीलाई गार्ड अफ अनर प्रदान गर्दै सम्मान गर्छ। यस यात्रामा हजारौँ साधु तथा श्रद्धालु सहभागी हुने गरेका छन्।

बूढा अमरनाथ मन्दिरको सुरक्षामा खटिएका सीमा सुरक्षा बलका जवानहरूको हौसला बढाउन प्रत्येक वर्ष दिल्लीबाट बाबा बूढा अमरनाथ यात्रा संघको टोली पनि यहाँ पुग्ने गरेको छ। टोलीमा सहभागी महिलाहरूले सैनिकहरूलाई रक्षा सूत्र बाँधेर उनीहरूको दीर्घायुको कामना गर्ने परम्परा रहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande