
भरुच, १७ अगस्त (हि.स.)। गुजरातको भरुच जिल्लाको दहेजस्थित ‘विझन प्रोडक्ट्स’ कम्पनीको जीआईडीसी परिसरमा सोमबार बिहान अचानक भीषण आगलागी हुँदा क्षेत्रमा त्रास फैलिएको छ। कम्पनीको गोदाममा लागेको आगो केही समयमै भयावह रूपमा फैलिएको थियो। आगोका ठूला लप्का र बाक्लो कालो धुवाँको मुस्लो आकाशमा देखिएको थियो।
घटनाको जानकारी पाएलगत्तै दमकल विभागका टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास शुरु गरे। आगलागीको अवस्था हेर्दै राहत तथा उद्धार टोलीलाई समेत सतर्क अवस्थामा राखिएको छ। स्थानीय पुलिस तथा सम्बन्धित औद्योगिक सुरक्षा अधिकारीहरूले घटनास्थितिको निगरानी गरिरहेका छन्।
दमकलकर्मीहरूले आगो नियन्त्रणका लागि पानी तथा केमिकल फोमको प्रयोग गरिरहेका छन्।
आगलागीको कारण भने हालसम्म स्पष्ट हुन सकेको छैन। घटना हुँदा कम्पनीको गोदाममा कति कर्मचारी उपस्थित थिए र आगलागीबाट कति आर्थिक क्षति भयो भन्ने विवरण आउन बाँकी छ।
प्रशासन तथा दमकल विभागको प्राथमिकता आगो पूर्ण रूपमा नियन्त्रणमा लिनुका साथै आसपासको क्षेत्रलाई सुरक्षित राख्नु रहेको छ। हालसम्म घटनामा कुनै मानवीय क्षति भएको आधिकारिक पुष्टि भएको छैन।
हिन्दुस्थान समाचार / भवानी थामी