
नयाँ दिल्ली, १७ अगस्त (हि.स.)। केन्द्रिय गृहमन्त्री तथा सहकारितामन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहलगायत विभिन्न नेताहरूले सोमबार देशवासीलाई पवित्र नागपञ्चमी पर्वको हार्दिक शुभकामना दिएका छन्।
अमित शाहले एक्समार्फत शुभकामना दिँदै भनेका छन्, “सबैलाई नागपञ्चमीको पवित्र पर्वको हार्दिक शुभकामना। देवाधिदेव महादेवको कृपाले यो पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सौभाग्य ल्याओस्।”
रक्षामन्त्री राजनाथ सिंहले भारतको सांस्कृतिक परम्परामा प्रकृतिप्रति श्रद्धा, समस्त जीव-जगत्प्रति करुणा तथा सहअस्तित्वको भावना सदैव निहित रहेको बताएका छन्। उनले नागपञ्चमी यही शाश्वत जीवनदृष्टिको पवित्र पर्व भएको उल्लेख गर्दै यसले प्रकृति संरक्षण, पर्यावरणीय सन्तुलन तथा प्रत्येक जीवप्रति सम्मानको सन्देश दिने बताए।
भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीनले भगवानसँग प्रार्थना गर्दै नागपञ्चमीको पवित्र पर्वले सबैको जीवनमा नयाँ ऊर्जा, सकारात्मकता र मंगल ल्याओस् भन्ने कामना गरेका छन्।
केन्द्रिय संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शेखावतले नागपञ्चमीको अवसरमा धार्मिक श्लोकसमेत साझा गरेका छन्,
“ॐ भुजंगेशाय विद्महे, सर्पराजाय धीमहि, तन्नो नागः प्रचोदयात्।”
केन्द्रिय कपडा राज्यमन्त्री गिरिराज सिंहले महादेव तथा नागदेवतासँग प्रार्थना गर्दै पवित्र नागपञ्चमी पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि तथा आरोग्य ल्याओस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी