
राँची, १8 अगस्त (हि.स.)। विद्यार्थी आन्दोलनको २४औँ दिन झारखण्ड सरकारले ठूलो निर्णय गर्दै टीडीपीएलद्वारा सञ्चालन गरिएका जेपीएससी र जेएसएससीका सबै परीक्षाहरू रद्द गर्ने घोषणा गरेको छ। सोमबार मुख्यमन्त्री हेमन्त सोरेनको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो। साथै, जेएसएससीद्वारा आयोजित सीजीएल परीक्षा पनि रद्द गर्ने निर्णय गरिएको छ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री सोरेनले १४औँ जेपीएससी प्रारम्भिक परीक्षा (पीटी) का साथै ब्याकलग २०२३ र २०२५ सम्बन्धी परीक्षाहरू पनि रद्द गर्ने निर्णय भएको जानकारी दिए। उनले सरकार विद्यार्थीहरूको पक्षमा रहेको र उनीहरूको मागमाथि विचार गरेर यो निर्णय गरिएको बताए।
मुख्यमन्त्रीका अनुसार, सीजीएल परीक्षाको छानबिनका लागि गठित एसआईटी र सीआईडीले हालसम्म बुझाएको प्रतिवेदनमा अनियमितताको संकेत देखिएको छ। जेपीएससी पीटी परीक्षामा पक्राउ परेका एक विद्यार्थीको संलग्नता सीजीएल परीक्षामा समेत देखिएकाले सरकारले सीजीएल परीक्षा रद्द गर्ने निर्णय गरेको हो।
राज्य सरकारले आईएएस अमिताभ कौशलको नेतृत्वमा जेपीएससी र जेएसएससीमा सुधार गर्न समिति गठन गरेको छ। मुख्यमन्त्रीले पहिले नै तयार गरिएको एसओपी (मानक कार्यविधि) को पालना गरिएको भए यस्तो अवस्था सिर्जना नहुने बताए। उनले सुधारका लागि जनतासँग सुझाउ पनि मागिएको र ती सुझाउहरूलाई आगामी दिनमा समेटिने जानकारी दिए।
मुख्यमन्त्री सोरेनले सन् २०१४ यता भएका सबै परीक्षाहरूको छानबिन गरिने निर्णय भएको र त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाइएको बताए। विद्यार्थीहरूको मागअनुसार सरकारले गठन गरेको मन्त्रीस्तरीय समितिले पछिल्ला दिनहरूमा विभिन्न चरणमा वार्ता गरेको थियो। वार्ताका क्रममा सीजीएल तथा अन्य परीक्षाको छानबिन अवकाशप्राप्त उच्च अदालतका न्यायाधीशबाट गराउने प्रस्ताव पनि आएको थियो, तर त्यसमा सहमति जुट्न सकेन। अन्ततः सीजीएल परीक्षा रद्द गर्ने निर्णय गरिएको हो।
यसैबीच, केन्द्र सरकारले हालै माइन्स एन्ड मिनरल डेभलपमेन्ट ऐन संशोधन गरी खनिजसम्बन्धी सेस उठाउने राज्यको अधिकार हटाएको विषयमा चाँडै नै झारखण्ड विधानसभा विशेष अधिवेशन बोलाइने र त्यसबारे छुट्टै छलफल गरिने मुख्यमन्त्रीले जानकारी दिए।
टीडीपीएलद्वारा सञ्चालन गरिएका रद्द भएका प्रमुख परीक्षाहरू:
१४औँ जेपीएससी सिभिल सेवा प्रारम्भिक (पीटी) परीक्षा
झारखण्ड पात्रता परीक्षा (जेट)
सहायक लोक अभियोजक परीक्षा
इन्स्पेक्टर अफ फ्याक्ट्रिज परीक्षा
सिभिल जज (जुनियर डिभिजन) परीक्षा
झारखण्ड वन रक्षक प्रतियोगिता परीक्षा
झारखण्ड पीजीटी परीक्षा।
हिन्दुस्थान समाचार / भवानी थामी