
नयाँ दिल्ली, १८ अगस्त (हि.स.)। दिल्लीको जन्तर-मन्तरमा भएको विद्यार्थी प्रदर्शन तथा त्यसबाट उदाएको युवा नेतृत्वलाई लिएर संसदीय मामिला मन्त्री किरेन रिजिजूले एक अन्तर्वार्तामा विद्यार्थीहरूको चिन्ता जायज रहेको र उनीहरूसँग संवाद गर्नुपर्ने बताएका छन्। यद्यपि, उनले आम आदमी पार्टी (आआप) र केही अन्य राजनीतिक दलहरूले विद्यार्थीहरूको मुद्दालाई आफ्नो राजनीतिक फाइदाका लागि प्रयोग गर्ने प्रयास गरिरहेको आरोप लगाए।
रिजिजूले महाराष्ट्रका अभिजीत दीपके आम आदमी पार्टीसँग जोडिएको उल्लेख गर्दै उनको विद्यार्थी आन्दोलनमा सहभागी भएको विषयमा प्रश्न उठाए। उनले विद्यार्थीहरूसँग संवाद गर्न सकिने बताए। विद्यार्थीहरूमा जोश र ऊर्जा हुने भएकाले उनीहरूका कुरा सुन्न आवश्यक रहेको उनको भनाइ थियो। तर राजनीतिक दलहरूले विद्यार्थीहरूको पछाडि लुकेर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने प्रयास गर्नु उचित नभएको उनले बताए।
भाजपा जेन-जी अर्थात् नयाँ युवा पुस्तासँग जोडिन पछाडि परेको हो कि भन्ने प्रश्नमा रिजिजूले त्यसलाई अस्वीकार गरे। उनले युवासँगको सम्पर्कमा कुनै कमी नरहेको बताए। उनका अनुसार, युवा हाम्रा आफ्नै सन्तान हुन् र भारतीय तथा एसियाली समाजमा परिवारबीच बलियो सम्बन्ध रहने गरेको छ।
रिजिजूले नयाँ पुस्ताका कुरा र मागलाई केवल अस्वीकार गर्नुको सट्टा उनीहरूलाई सुन्ने र आफ्ना कुरा पनि बुझाउने आवश्यकता रहेको बताए। उनले युवा र सरकारबीच निरन्तर संवाद हुनुपर्नेमा जोड दिए।
उनका अनुसार, युवाहरूलाई लगातार केवल माग राख्नका लागि उक्साइरहने हो भने दूरी कम गर्न समय लाग्नेछ। त्यसैले समस्याको समाधान संवाद र आपसी समझदारीबाट मात्रै सम्भव हुने रिजिजूले बताए।
हिन्दुस्थान समाचार / भवानी थामी