
गुवाहाटी, २० अगस्ट (हि.स.)। असममा आएको बाढीले आफु पछाडि ठूलो विनाशको छाप छोडेको छ। जनजीवन विस्तारै सामान्य अवस्थामा फर्किन थालेको भए पनि बाढी पीडितहरू अहिले घरभित्र थुप्रिएको हिलो सफा गर्ने, क्षतिग्रस्त घरहरूको मर्मत गर्ने तथा नष्ट भएका खेतबारीलाई पुनः खेतीयोग्य बनाउने कठिन चुनौतीसँग जुधिरहेका छन्।
राज्यका सबै नदीहरूको जलस्तर अहिले खतरा संकेतभन्दा तल बगिरहेको छ। बाढीको प्रभाव हाल चार जिल्लामा मात्र सीमित रहेको छ। असम राज्य आपदा प्रबन्धन प्राधिकरण (एएसडीएमए) ले १९ अगस्तमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबै नदीहरूको जलस्तर तीव्र रूपमा घटिरहेको छ र खतरा संकेतभन्दा तल झरेको छ।
बाढीका कारण ज्यान गुमाउनेहरूको संख्या १०६ पुगेको छ। हाल शिवसागर, नगाउँ, गोलाघाट र जोरहाट जिल्लाहरू प्रभावित छन्। यी जिल्लाका १३ राजस्व मण्डलअन्तर्गतका ९० गाउँ प्रभावित भएका छन्, जहाँ १६ हजार ९२२ जना नागरिक अझै पनि बाढीको असर भोगिरहेका छन्। साथै ३ हजार ५७ हेक्टर कृषि भूमि अझै पानीमुनि रहेको छ।
हाल केवल सातवटा सरकारी राहत शिविरमा २६२ जना आश्रय लिएर बसेका छन्। बुधबारसम्म बाढीबाट प्रभावित पशुधनको संख्या १४ हजार ६४५ पुगेको छ। राहत तथा उद्धार कार्यमा पुलिस र प्रशासनका टोलीहरू निरन्तर खटिएका छन्।
मंगलबार राज्य सरकारले प्रभावित क्षेत्रमा क्षतिको मूल्याङ्कन गर्न १७ वटा स्वास्थ्य टोली परिचालन गरेको थियो। क्षतिको विस्तृत सर्वेक्षण कार्य अझै जारी छ। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सर्वेक्षण सम्पन्न भएपछि सबै प्रकारका क्षतिको क्षतिपूर्ति उपलब्ध गराइने व्यवस्था गरिने घोषणा गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी