
नयाँ दिल्ली, २० अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज पूर्व प्रधानमन्त्री राजीव गान्धीलाई उनको जयन्तीका अवसरमा स्मरण गरेका छन्। उनले एक्समा लेखेका छन्, “भारतका पूर्व प्रधानमन्त्री श्री राजीव गान्धीलाई उहाँको जयन्तीका अवसरमा श्रद्धाञ्जली।” दिवंगत नेताका परिवारका सदस्यहरू तथा कांग्रेस नेताहरू सोनिया गान्धी, राहुल गान्धी र प्रियंका गान्धी वाड्रा श्रद्धाञ्जली अर्पण गर्न राजीव गान्धीको समाधिस्थल वीरभूमि पुगेका थिए। लोकसभा अध्यक्ष तथा रक्षामन्त्रीले पनि राजीव गान्धीलाई स्मरण गरेका छन्।
वीरभूमिमा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेसँगै पुगेका सोनिया गान्धी, राहुल गान्धी, प्रियंका गान्धी तथा उनका पति रोबर्ट वाड्राले राजीव गान्धीलाई पुष्पाञ्जली अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे। लोकसभा अध्यक्ष ओम बिडलाले एक्समा लेखेका छन्, “पूर्व प्रधानमन्त्री श्री राजीव गान्धीजीको जयन्तीमा उहाँप्रति हार्दिक नमन।” रक्षामन्त्री राजनाथ सिंहले एक्समा लेखेका छन्, “भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको जयन्तीका अवसरमा म उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दछु। भारतको विकास यात्रामा उहाँको पनि महत्वपूर्ण योगदान रहेको छ।”
पूर्व प्रधानमन्त्री राजीव गान्धीको जयन्तीलाई ‘सद्भावना दिवस’ का रूपमा मनाइन्छ। उनी ४० वर्षको उमेरमा प्रधानमन्त्री बनेका थिए। राजीव गान्धीको जन्म २० अगस्त, १९४४ मा बम्बई (हाल मुम्बई) मा भएको थियो। ३१ अक्टोबर, १९८४ मा उनकी आमा इन्दिरा गान्धीको हत्या भएपछि उनी कांग्रेस अध्यक्ष बनेका थिए र त्यसपछि प्रधानमन्त्री बने। राजीव गान्धी सन् १९८४ देखि १९८९ सम्म भारतका प्रधानमन्त्री रहेका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी