
नयाँ दिल्ली, २० अगस्त (हि.स.)। जम्मू-कश्मीर र लद्दाखको दुईदिने भ्रमणका क्रममा बुधबार श्रीनगर पुगेका भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर श्रीनगरको प्राकृतिक सौन्दर्यबाट प्रभावित भएका छन्। उनले सामाजिक सञ्जाल एक्समा आफ्नो अनुभव साझा गर्दै श्रीनगरको प्रशंसा गरेका छन्।
सर्जियो गोरले लेखेका छन्, “परी महल र प्रसिद्ध डल लेकको भ्रमणसँगै श्रीनगरको सुन्दरताको अनुभव गर्नु अत्यन्तै अद्भुत रह्यो।”
बुधबार श्रीनगरमा आयोजित पत्रकार सम्मेलनमा गोरले अमेरिका जम्मू-कश्मीरसम्बन्धी आफ्नो यात्रा परामर्श (ट्राभल एडभाइजरी) को पुनरावलोकन गर्ने बताए। उनका अनुसार, केन्द्र सरकार र मुख्यमन्त्री उमर अब्दुल्लाले यस क्षेत्रलाई अझ सुरक्षित बनाउन विभिन्न कदमहरू चालेका छन्।
गोरले जम्मू-कश्मीर भारतको महत्वपूर्ण हिस्सा मात्र नभई अत्यन्तै सुन्दर स्थान भएको पनि उल्लेख गरे।
हिन्दुस्थान समाचार / भवानी थामी