
नयाँ दिल्ली, २२ अगस्त (हि.स.)। केन्द्र सरकारले बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै रुघाखोकीका लागि प्रयोग हुने क्लोरफेनिरामिन मलेट र फिनाइलफ्रिन हाइड्रोक्लोराइडको संयोजन भएका सबै फिक्स्ड डोज कम्बिनेसन (एफडीसी) औषधिको उत्पादन, बिक्री तथा वितरणमा नयाँ प्रतिबन्ध लागू गरेको छ। सरकारले चार वर्षभन्दा कम उमेरका बालबालिकालाई यी औषधि नदिन स्पष्ट गरेको छ।
शनिबार जारी अधिसूचनाअनुसार, यी औषधिको लेबल, प्याकेज इन्सर्ट तथा प्रचार सामग्रीमा सम्बन्धित चेताउनी उल्लेख गर्न अनिवार्य हुनेछ। यसअघि १५ अप्रेल, २०२५ मा केही निश्चित एफडीसी औषधिमा मात्र यस्तो प्रतिबन्ध लगाइएको थियो। अहिले सरकारले यसको दायरा विस्तार गर्दै क्लोरफेनिरामिन मलेट र फिनाइलफ्रिन हाइड्रोक्लोराइड भएका सबै एफडीसी औषधिलाई यस नियमअन्तर्गत समावेश गरेको छ।
सरकारले विशेषज्ञ समिति तथा ड्रग्स टेक्निकल एडभाइजरी बोर्डको सिफारिसका आधारमा यो निर्णय गरेको हो। सरकारका अनुसार, चार वर्षभन्दा कम उमेरका बालबालिकामा यी औषधिको प्रयोग जोखिमपूर्ण हुन सक्ने भए पनि उनीहरूका लागि तुलनात्मक रूपमा सुरक्षित विकल्प उपलब्ध छन्।
यो आदेश ड्रग्स एन्ड कस्मेटिक्स ऐन, १९४० को धारा २६ए अन्तर्गत सार्वजनिक स्वास्थ्यको हितमा जारी गरिएको हो।
हिन्दुस्थान समाचार / भवानी थामी