
रायपुर, २२ अगस्त (हि.स.)। छत्तीसगढको इन्दिरा गान्धी कृषि विश्वविद्यालय (आईजीकेभी) अन्तर्गत बीएससी एग्रिकल्चर दोस्रो वर्षको दोस्रो सेमेस्टरको कीट विज्ञान परीक्षाको प्रश्नपत्र परीक्षा शुरु हुनुभन्दा ठीकअघि लिक भएको घटनामा पुलिसले दुर्गस्थित एक निजी कलेजका प्राध्यापकसहित ६ जनालाई पक्राउ गरेको छ।
पुलिस अधिकारीका अनुसार, पुलिस तथा साइबर युनिटका टोलीले छत्तीसगढ़का रायपुर, दुर्ग, कवर्धा, राजनांदगाउँ र बिलासपुरमा व्यापक छापा मारेका थिए। प्राविधिक प्रमाण तथा ह्वाट्सएप च्याटका आधारमा शनिबार बिहान सबै आरोपीलाई पक्राउ गरिएको हो।
अनुसन्धानका क्रममा प्रश्नपत्र दुर्गबाट कवर्धाका विद्यार्थीहरूसम्म पुगेको र त्यसपछि ह्वाट्सएप ग्रुपमार्फत अन्य विद्यार्थीबीच फैलिएको खुलेको छ। पुलिसले यस नेटवर्कसँग जोडिएका केही विद्यार्थीसँग लामो सोधपुछसमेत गरेको छ। कवर्धाका दुई विद्यार्थीलाई नोटिस जारी गरी रायपुर बोलाइएको छ।
पुलिसले आधिकारिक रूपमा कीट विज्ञानको उक्त प्रश्नपत्र सबैभन्दा पहिले दुर्गस्थित एक निजी कृषि कलेजबाट बाहिरिएको पुष्टि गरेको छ। रायपुर, दुर्ग, कवर्धा, राजनांदगाउँ र बिलासपुरलगायत ४ देखि ५ जिल्लामा छापा मारेर १६ भन्दा बढी संदिग्धलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो। त्यसपछि घटनाका मुख्य कडी पहिचान गरी ६ जनालाई पक्राउ गरिएको हो।
पुलिसका अनुसार, परीक्षा शुरु हुनुभन्दा करिब दुई घण्टाअघि बिहान ८ बजीतिर विद्यार्थीहरूको ह्वाट्सएप ग्रुपमा स्क्यान गरिएको प्रश्नपत्र नभई एउटा टेक्स्ट फाइल प्रसारित भएको थियो। उक्त फाइलमा १८ वटा महत्वपूर्ण प्रश्न समावेश थिए। बिहान ९ः३० बजी परीक्षा केन्द्रमा मूल प्रश्नपत्र खोलिएपछि र १० बजे परीक्षा शुरु भएपछि गरिएको मिलानमा टेक्स्ट फाइलमा रहेका ७० प्रतिशतभन्दा बढी प्रश्न वास्तविक प्रश्नपत्रसँग हुबहु मिलेको पाइएको थियो।
पक्राउ पर्ने मुख्य संदिग्ध दुर्गस्थित एक निजी कलेजमा कार्यरत प्राध्यापक रहेका छन्। उनीमाथि प्रश्नपत्र सबैभन्दा पहिले बाहिर पठाएको आरोप छ। पक्राउ परेका अन्य पाँच जनामा उक्त नेटवर्कसँग जोडिएका कलेजका विद्यार्थीहरू रहेका छन्, जसले ह्वाट्सएपमार्फत प्रश्नपत्र थप विद्यार्थीमाझ फैलाएको आरोप छ।
निर्धारित कार्यक्रमअनुसार, उक्त परीक्षा २० अगस्तमा सञ्चालन हुने थियो। प्रश्नपत्रहरू सुरक्षित रूपमा परीक्षा केन्द्रमा पुर्याइसकिएको भए पनि परीक्षा शुरु हुनुभन्दा करिब दुई घण्टाअघि नै प्रश्नपत्र ह्वाट्सएपमार्फत व्यापक रूपमा प्रसारित हुन थालेको थियो।
विश्वविद्यालय प्रशासनले घटनाबारे जानकारी पाएलगत्तै तत्काल परीक्षा रद्द गर्ने निर्णय गरेको थियो। कवर्धा कलेजका अधिष्ठाता तथा बिलासपुरस्थित एक कलेजले इमेलमार्फत विश्वविद्यालयलाई आधिकारिक जानकारी गराएपछि तेलीबांधा पुलिस थानामा एफआईआर दर्ता गरिएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी