झारखण्डको रामगढ़स्थित स्टिल प्लान्टमा विस्फोट, तीन इन्जिनियरको मृत्यु
मृत इंजीनियर का फाइल फोटो


रामगढ़, २२ अगस्त (हि.स.)। झारखण्डको रामगढ़ जिल्लाको बरकाकाना ओपी क्षेत्रअन्तर्गत हेहलस्थित सिमेन्ट एन्ड इस्पात पावर प्लान्टमा शुक्रबार राति शक्तिशाली विस्फोट हुँदा तीन इन्जिनियरको मृत्यु भएको छ भने एक इन्जिनियर गम्भीर घाइते भएका छन्। घटनापछि कारखाना परिसरमा हलचल मच्चिएको थियो। बरकाकाना थाना प्रभारी उमाशंकर वर्मा घटनास्थलमा पुगेर उद्धार तथा राहत कार्य शुरु गरेका थिए।

प्रारम्भिक जानकारीअनुसार, अत्यधिक तापक्रमका कारण पावर प्लान्टको प्रणालीमा असर परेको र प्रोटेक्सन सिस्टम फेल भएको थियो। त्यसै क्रममा टर्बाइन ओभरस्पिड भएपछि शक्तिशाली विस्फोट भएको बताइएको छ।

पुलिसका अनुसार, घटनामा बोकारोको जागेश्वर विहारका विनीत महतो, धनबादका सञ्जीव केसरी र गढवाको नगर उटारीका अभिषेक पाण्डेको घटनास्थलमै मृत्यु भएको हो। हजारीबाग जिल्लाका तरुण रवानी गम्भीर घाइते भएका छन्।

घटनापछि प्लान्टमा कार्यरत कर्मचारी अमित कुमारले व्यवस्थापनको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। उनका अनुसार, पावर प्लान्टको कन्ट्रोल रुमले यसअघि नै अत्यधिक तापक्रम बढेको संकेत दिइरहेको थियो। त्यहाँको एसी बिग्रिएका कारण काम गर्नसमेत कठिनाई भएको थियो। कर्मचारीहरूले पटक-पटक व्यवस्थापनलाई जानकारी गराए पनि कुनै कदम नचालिएको र कूलिङ व्यवस्था पनि सुधार नगरिएको उनले आरोप लगाए।

यसैबीच, घटनाबाट आक्रोशित स्थानीयवासीले शनिबार रामगढ़ पतरातु सडक अवरुद्ध गरेका छन्। पुलिस तथा प्लान्ट व्यवस्थापनले क्षतिपूर्तिको विषयमा आक्रोशित स्थानीयसँग छलफल गरिरहेको जनाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande