
काठमाडौँ, २२ अगस्त (हि.स.)। नेपालमा पुनः मनसुन सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले शनिबार बिहान जारी गरेको मौसम बुलेटिनअनुसार, दिउँसो देशभर सामान्यतया बदल छाई रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ।
आज देशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति पनि देशभर सामान्यतया बदल छाई रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
यसैबीच, काठमाडौँमा गए रातिदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार, काठमाडौँमा रातिदेखि नै रुक्दै वर्षा भइरहेको छ। हाल केही समयका लागि वर्षा रोकिए पनि दिउँसोपछि पुनः वर्षा हुने सम्भावना रहेको उनले बताइन्।
हिन्दुस्थान समाचार / बिशाल