असममा बाढीको प्रभाव ७८ गाउँमा सीमित
असमः बाढ़ प्रभावितों का आंकड़ा एकत्र किये जाने का दृश्य


गुवाहाटी, २३ अगस्ट (हि.स.)। असममा बाढीको अवस्था धेरै हदसम्म सामान्य बन्दै गएको छ। बाढीको प्रभाव हाल ६ जिल्लाका ७८ गाउँमा सीमित भएको छ। राज्य सरकारले बाढीबाट भएको क्षतिको आकलन गर्न सर्वेक्षण गराइरहेको छ। असम राज्य आपदा प्रबन्धन प्राधिकरणले २२ अगस्तमा सार्वजनिक गरेको तथ्यांकअनुसार, राज्यका सबै नदीहरू हाल खतराको तहभन्दा तल बगिरहेका छन्। यस वर्ष बाढीका कारण १०६ जनाको मृत्यु भएको छ।

बाढी प्रभावित ६ जिल्लामा शिवसागर, जोरहाट, धेमाजी, नगाउँ, कछार र गोलाघाट रहेका छन्। यी जिल्लाका १३ राजस्व मण्डलअन्तर्गत कुल ७८ गाउँ प्रभावित भएका छन्। राज्यभरका १२ हजार ३१ जना मानिस अझै बाढीबाट प्रभावित छन्। करिब २,९९४ हेक्टर कृषि भूमि पानीमा डुबेको छ।

बाढी प्रभावितका लागि सञ्चालन गरिएका राहत शिविरको संख्या घटेर पाँचमा पुगेको छ। त्यस्तै, राहत वितरण केन्द्रको संख्या ६ रहेको छ। राहत शिविरमा हाल १६२ जनाले आश्रय लिइरहेका छन् भने राहत शिविरबाहिर रहेका ९०० जना प्रभावितले राहत वितरण केन्द्रबाट सहायता प्राप्त गरिरहेका छन्।

राज्य सरकारले बाढी प्रभावित क्षेत्रमा सडक, पुल तथा अन्य पूर्वाधारमा भएको क्षतिको आकलन गराइरहेको छ। प्रभावित नागरिकलाई सहयोग गर्न आर्थिक सहायता तथा आवश्यक राहत सामग्रीसमेत उपलब्ध गराइँदै आएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande