
टोकियो (जापान), २३ अगस्त (हि.स.)। पूर्वी जापानमा आइतबार बिहान २ बजी ५.९ तीव्रताको भूकम्प गएको छ। भूकम्पका धक्का राजधानी टोकियोसहित आसपासका विभिन्न क्षेत्रमा महसुस गरिएको थियो। जापान मौसम विज्ञान एजेन्सीका अनुसार, भूकम्प इबाराकी प्रान्तमा जमिनको सतहदेखि करिब ७० किलोमिटर गहिराइमा गएको हो। भूकम्पपछि सुनामीको कुनै खतरा नरहेको एजेन्सीले जनाएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भने भूकम्पको प्रारम्भिक तीव्रता ५.८ तीव्रता मापन गरेको छ।
‘जापान टुडे’ र ‘द जापान न्युज’ का अनुसार, हालसम्म भूकम्पबाट कसैको मृत्यु वा घाइते भएको तथा ठूलो भौतिक क्षति भएको विवरण प्राप्त भएको छैन। यद्यपि, प्रधानमन्त्री सानाए ताकाइचीले सम्भावित क्षतिको आकलन गर्न सरकारले टास्क फोर्स गठन गर्न लागेको जानकारी दिएकी छन्। भूकम्पपछि मोबाइल फोनमा आपत्कालीन चेताउनी सन्देशसमेत पठाइएको थियो। भूकम्पका कारण टोकियोका करिब ४६० घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको बताइएको छ।
यसअघि गत महिना जापानको दक्षिणी क्युशु द्वीपको कुमामोटो क्षेत्रमा ७.१ तीव्रताको भूकम्प गएको थियो। उक्त भूकम्पमा ३८ जनाको मृत्यु र ३६४ जना घाइते भएका थिए। भूकम्पका कारण १,५०० भन्दा बढी भवन पूर्ण रूपमा ध्वस्त भएका थिए भने करिब २० हजार अन्य भवनमा क्षति पुगेको थियो।
यसैबीच, शनिबार दिउँसो टोकियो तथा आसपासका क्षेत्रमा भारी वर्षा भएको थियो। वर्षाका कारण इटाबाशी वार्डसहित विभिन्न स्थानमा सडकहरू जलमग्न भएका थिए। इटाबाशीमा प्रतिघण्टा १२० मिलिमिटरसम्म वर्षा मापन गरिएको थियो। जापान मौसम विज्ञान एजेन्सीले टोकियो र कान्तो क्षेत्रमा बाढीको जोखिमलाई ध्यानमा राख्दै केही समयका लागि लेभल ४ को आपत्कालीन चेताउनी जारी गरेको थियो। चेताउनी हटाइनुअघि धेरै सडकहरू जलमग्न भएका थिए। यसअघि यही महिनामा छिमेकी चिबा प्रान्त तथा पूर्वी जापानका केही क्षेत्रमा असामान्य रूपमा भारी वर्षा भएको थियो।
हिन्दुस्थान समाचार / बिशाल