
शनयाँ दिल्ली, २३ अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय अन्तरिक्ष दिवसको अवसरमा तिरंगाको गौरव र १४० करोड देशवासीको सपना नै अन्तरिक्ष क्षेत्रमा भारतको संकल्प रहेको बताएका छन्।
प्रधानमन्त्री मोदीले यस अवसरमा ‘एक्स’ मार्फत सार्वजनिक गरेको भिडियोमा भने, “मैले अयोध्यामा भनेको थिएँ कि यो नयाँ युगको शुरुवात हो। यस नयाँ युगमा विश्वव्यवस्थामा भारतले आफ्नो अन्तरिक्ष उपस्थिति निरन्तर विस्तार गरिरहेको छ। हामी सबैले मिलेर सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने संकल्प गरेका छौं। यो संकल्प पूरा गर्न अन्तरिक्ष क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण छ।”
उनले आजको पुस्ताका इन्जिनियर, डिजाइनर तथा वैज्ञानिकहरूले नयाँ-नयाँ प्रविधिको विकास गरिरहेको बताए। ‘प्रोपल्सन सिस्टम’, ‘कम्पोजिट मटेरियल’ तथा स्याटेलाइट प्लेटफर्मजस्ता क्षेत्रमा भारतीय युवाले काम गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले केही वर्षअघि कल्पना गर्नसमेत कठिन हुने क्षेत्रमा आजका युवा सक्रिय रहेको बताए।
प्रधानमन्त्री मोदीले भारतको निजी अन्तरिक्ष क्षेत्रका प्रतिभाले विश्वभर आफ्नो छुट्टै पहिचान बनाइरहेको बताए। उनका अनुसार, भारतको अन्तरिक्ष क्षेत्र अहिले विश्वव्यापी लगानीकर्ताका लागि आकर्षणको केन्द्र बन्दै गएको छ।
प्रधानमन्त्रीले रकेट प्रक्षेपणको काउन्टडाउनले लाखौं बालबालिकालाई प्रेरित गर्ने पनि बताए। घरघरमा कागजका हवाईजहाज उडाउने बालबालिकाले भविष्यमा एरोनटिकल इन्जिनियर वा वैज्ञानिक बन्ने सपना देख्ने गरेको उल्लेख गर्दै उनले अन्तरिक्ष क्षेत्रमा भारतको उपलब्धिले नयाँ पुस्तामा विज्ञान तथा प्रविधिप्रति रुचि बढाइरहेको बताए।
हिन्दुस्थान समाचार / भवानी थामी