
नयाँ दिल्ली, २३ अगस्त (हि.स.)। लोकसभा अध्यक्ष ओम बिरला, केन्द्रिय गृहमन्त्री तथा सहकारितामन्त्री अमित शाहसहित विभिन्न केन्द्रिय मन्त्री तथा नेताहरूले आइतबार राष्ट्रिय अन्तरिक्ष दिवसको अवसरमा देशवासीलाई शुभकामना दिएका छन्।
लोकसभा अध्यक्ष ओम बिरलाले ‘एक्स’ मार्फत शुभकामना दिँदै भने, “चन्द्रमादेखि सूर्यसम्म, अन्तरिक्ष स्टेसनदेखि अन्तरिक्षमा नयाँ प्रविधिसम्म भारतको अन्तरिक्ष यात्रा आज आत्मनिर्भरता, नवप्रवर्तन र नयाँ सामर्थ्यको कथा बनेको छ।” उनले अन्तरिक्ष विज्ञानसँग जोडिएका वैज्ञानिक तथा सम्पूर्ण भारतीयलाई राष्ट्रिय अन्तरिक्ष दिवसको शुभकामना दिएका छन्।
केन्द्रिय गृहमन्त्री अमित शाहले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतलाई अन्तरिक्ष क्षेत्रमा अग्रणी बनाउने दृष्टिकोणको सफलताको यो ऐतिहासिक कोसेढुंगा बताएका छन्। उनका अनुसार, यसले देशका युवालाई अन्तरिक्ष अन्वेषणमा सभ्यताको नयाँ उचाई हासिल गर्न प्रेरणा दिएको छ।
केन्द्रिय विज्ञान तथा प्रविधिमन्त्री डा. जितेन्द्र सिंहले चन्द्रयान ३ को सफलतालाई भारतलाई विश्वका प्रमुख अन्तरिक्ष सक्षम राष्ट्रको पंक्तिमा उभ्याउने ऐतिहासिक क्षणका रूपमा वर्णन गरेका छन्। वैज्ञानिकहरूको यस उत्कृष्ट उपलब्धिले आगामी पुस्तालाई निरन्तर प्रेरित गर्ने उनले बताएका छन्।
केन्द्रिय सडक, यातायात तथा राजमार्गमन्त्री नितिन गडकरीले प्रारम्भिक अन्तरिक्ष अभियानदेखि चन्द्रयान र त्यसपछिका अभियानसम्म भारतको असाधारण अन्तरिक्ष यात्रालाई सम्मान गर्ने दिन भएको बताएका छन्। उनले वैज्ञानिक, इन्जिनियर तथा नवप्रवर्तकहरूको प्रतिभा, दृढ़ता र साहसको प्रशंसा गर्दै उनीहरूको उपलब्धिले युवामा जिज्ञासा जगाउने विश्वास व्यक्त गरेका छन्।
केन्द्रिय स्वास्थ्यमन्त्री जेपी नड्डाले भारतलाई चन्द्रमाको दक्षिणी ध्रुवसम्म पुर्याउने खोज तथा अनुसन्धानको भावनालाई सम्मान गर्ने अवसर भएको बताएका छन्। उनका अनुसार, चन्द्रयान ३ भारतीय वैज्ञानिकहरूको दूरदृष्टि, कडा मेहनत र दृढताको प्रमाण हो। उनले प्रधानमन्त्री मोदीको नेतृत्वमा अन्तरिक्ष क्षेत्रमा आत्मनिर्भर तथा विश्वस्तरीय अग्रणी भारत निर्माणको यात्रालाई अघि बढाउन आह्वान गरेका छन्।
भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनले राष्ट्रिय अन्तरिक्ष दिवस भारतको वैज्ञानिक क्षमता तथा वैज्ञानिकहरूको दूरदृष्टि, समर्पण र नवप्रवर्तनको भावनाको प्रतीक भएको बताएका छन्। प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतले अन्तरिक्ष विज्ञान तथा प्रविधिको क्षेत्रमा लगातार नयाँ कीर्तिमान कायम गर्दै ‘विकसित भारत’ को दृष्टिकोणलाई अघि बढाइरहेको उनले बताए।
केन्द्रिय रक्षामन्त्री राजनाथ सिंहले चन्द्रयान अभियानको ऐतिहासिक सफलतादेखि महत्वाकांक्षी गगनयान अभियानसम्म भारतको अन्तरिक्ष यात्राले देशको वैज्ञानिक उत्कृष्टता, प्राविधिक क्षमता तथा नवप्रवर्तनप्रतिको अटुट भावनालाई प्रतिबिम्बित गर्ने बताएका छन्।
केन्द्रिय कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानले २०२३ मा आजकै दिन भारतले चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा चन्द्रयान ३ को सफल सफ्ट ल्यान्डिङ गराएर अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा इतिहास रचेको स्मरण गरेका छन्। उनले उक्त उपलब्धि भारतीय वैज्ञानिकहरूको अद्वितीय प्रतिभा, असाधारण दक्षता र अथक मेहनतको परिणाम भएको बताएका छन्।
केन्द्रिय संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शेखावतले विज्ञानको क्षेत्रमा भारतले आफ्नो छुट्टै पहिचान बनाएको उल्लेख गर्दै भारत अब अन्तरिक्ष क्षेत्रमा समेत अदम्य शक्ति बनेको बताएका छन्। उनले अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा देशको गौरवपूर्ण यात्रालाई निरन्तर अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी