
नयाँ दिल्ली, २३ अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले हालै अन्तरिक्ष क्षेत्रमा काम गरिरहेका स्टार्टअपसँग आबद्ध युवा नेतृत्वकर्तासँग भेटवार्ता गरेका छन्। उक्त भेटमा उनले सरकार स्टार्टअपलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धताका साथ काम गरिरहेको र उनीहरूलाई ‘कसैले आफ्नो हात छोड्ने छैन’ भन्ने विश्वास दिलाउने प्रयास भइरहेको बताएका छन्।
प्रधानमन्त्री निवासमा शुक्रबार भएको संवादको भिडियो आइतबार राष्ट्रिय अन्तरिक्ष दिवसको अवसरमा सार्वजनिक गरिएको हो। भिडियोमा प्रधानमन्त्री मोदीले युवा स्टार्टअप नेतृत्वकर्तालाई नयाँ क्षेत्रमा साहस देखाएको भन्दै प्रशंसा गरेका छन्। उनले सरकारमाथि विश्वास गरेकोमा पनि उनीहरूको प्रशंसा गरे।
भिडियो सार्वजनिक गर्दै प्रधानमन्त्रीले ‘एक्स’ मा लेखेका छन्, “भारतका केही प्रतिभाशाली अन्तरिक्ष स्टार्टअपसँग भेट भयो। सधैंझैं उनीहरूको ऊर्जा र महत्वाकांक्षाबाट म निकै प्रभावित भएँ। उनीहरूको दूरदृष्टि र आशावाद तपाईंलाई पनि मन पर्नेछ।”
भिडियोमा प्रधानमन्त्रीले स्टार्टअप प्रतिनिधिहरूसँग आफूले निर्णयमा निरन्तरता कायम राख्नुपर्ने मान्यता राख्ने बताएका छन्। उनका अनुसार, नीतिमा बारम्बार परिवर्तन नहोस्, जसले गर्दा जोखिम लिन चाहने उद्यमीलाई आफ्नो निर्णयका कारण समस्या आए पनि सरकारले उनीहरूको साथ नछोड्ने विश्वास रहोस् भन्ने उद्देश्य सरकारको रहेको छ।
एक युवा उद्यमीले विश्वव्यापी रूपमा आफ्नो कम्पनीले राम्रो प्रतिक्रिया पाइरहेको र भारतीय कम्पनीलाई निर्यातमा सरकारले सहयोग गरिरहेको बताए। त्यसको जवाफमा प्रधानमन्त्री मोदीले भारतको उद्यमशीलताको विशेषता उल्लेख गर्दै भारतीय उत्पादन तथा सेवाको मूल्य प्रतिस्पर्धी रहेको बताए। उनले भारतीय प्रतिभाको कुनै तुलना नभएको र देशका नागरिकमा जोखिम उठाउने क्षमता पनि उच्च रहेको उल्लेख गर्दै भारतले विश्वव्यापी मञ्चमा तीव्र गतिमा आफ्नो स्थान बनाउन सक्ने बताए।
अर्का एक युवा नेतृत्वकर्ताले अन्तरिक्ष क्षेत्र निजी क्षेत्रका लागि खुल्ला भएपछि ठूलो परिवर्तन आएको र युरोप तथा अमेरिकामा रहेका भारतीयहरू समेत भारत फर्केर काम गर्न इच्छुक रहेको बताए।
यसमा प्रधानमन्त्री मोदीले विश्वभरका प्रतिभालाई भारतसँग जोड्नुपर्ने बताए। उनले अन्तरिक्ष क्षेत्रमा करियर बनाउन चाहने विश्वका प्रतिभाले भारत आउन र भारतीय स्टार्टअप वा अन्तरिक्ष संस्थासँग जोडिन चाहने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्रीले भारतले प्रतिभाको ठूलो भण्डारलाई चुम्बकझैं आकर्षित गर्न सक्ने र यही क्षमता देशको ठूलो शक्तिका रूपमा स्थापित हुन सक्ने विश्वास व्यक्त गरे।
उल्लेखनीय छ, भारतको निजी अन्तरिक्ष क्षेत्रले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति गरेको छ। विभिन्न स्टार्टअप कम्पनीहरू उपग्रह, प्रक्षेपण यान तथा अन्तरिक्ष प्रविधिको विकासमा सक्रिय छन्। अग्निकुल कसमस, स्काइरुट एरोस्पेस र पिक्सेलजस्ता कम्पनीले भारतको निजी अन्तरिक्ष क्षमता बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्। यसले अन्तरिक्ष क्षेत्रमा नवप्रवर्तन, लगानी र विश्वव्यापी प्रतिस्पर्धालाई समेत प्रोत्साहन गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी