
नयाँ दिल्ली, २३ अगस्त (हि.स.)। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय अन्तरिक्ष दिवसको अवसरमा आज बिहान ‘एक्स’ मार्फत शुभकामना व्यक्त गरेका छन्। उनले भनेका छन्, “आउनुहोस्, अझ ठूला सपना देखौं, अझ धेरै नवप्रवर्तन गरौं र नयाँ सीमाहरू पार गरौं।”
चन्द्रयान-३ को विक्रम ल्यान्डर सफलतापूर्वक अवतरण गरेपछि प्रधानमन्त्री मोदीले २६ अगस्त, २०२३ मा बेंगलुरुस्थित भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को मुख्यालय भ्रमणका क्रममा हरेक वर्ष २३ अगस्तलाई ‘राष्ट्रिय अन्तरिक्ष दिवस’ का रूपमा मनाउने घोषणा गरेका थिए।२०२३ को २३ अगस्तमा भारतले चन्द्रमाको दक्षिणी ध्रुव नजिक चन्द्रयान-३ को सफल ‘सफ्ट ल्यान्डिङ’ गराएर ऐतिहासिक उपलब्धि हासिल गरेको थियो। भारत चन्द्रमामा अन्तरिक्षयान सफलतापूर्वक अवतरण गराउने विश्वको चौथो देश तथा चन्द्रमाको दक्षिणी ध्रुव नजिक अवतरण गर्ने पहिलो देश बनेको थियो।
विक्रम ल्यान्डरले चन्द्रमाको सतहको अध्ययन गर्न प्रज्ञान रोभरलाई समेत सफलतापूर्वक चन्द्रमामा उतारेको थियो। प्रधानमन्त्री मोदीले उक्त ऐतिहासिक अभियानबाट प्राप्त परिणामले आगामी वर्षहरूमा सम्पूर्ण मानवजातिलाई लाभ पुग्ने बताएका थिए।
यसैबीच, इसरोले आज राष्ट्रिय अन्तरिक्ष दिवसको अवसरमा सबैलाई भारतलाई विश्वको अग्रणी अन्तरिक्ष शक्तिका रूपमा स्थापित गर्ने प्रतिबद्धता दोहोर्याउन आह्वान गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी